५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धान र कोदो उत्पादन बढ्यो



अ+ अ-

म्याग्दी । म्याग्दीमा यसवर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन चार दशमलव ३४ प्रतिशत र कोदो उत्पादन शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अनुकूल मौसम, रोगकीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा धान र कोदो उत्पादन बढेका केन्द्र प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । गतवर्ष म्याग्दीमा तीन हजार दुई सय ५० मेट्रिकटन कोदो र ११ हजार नौ सय २९ दशमलव ३३ मेट्रिकटन धान उत्पादन भएको थियो ।

केन्द्रका प्राविधिक सहायक सम्झना आचार्यले यसवर्ष प्रतिहेक्टर धानको उत्पादकत्व तीन दशमलव दुई र कोदोको उत्पादकत्व एक दशमलव दुई मेट्रिकटन भएको जानकारी दिनुभयो । तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा १२ हजार चार सय ४८ मेट्रिकटन धान र दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा तीन हजार तीन सय मेट्रिकटन कोदो उत्पादन भएको उहाँको भनाइ छ ।

“जिल्लाका विभिन्न ठाउँमा गरिएको धान र कोदो बालीको क्रप कटिङ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरेका थियौँ”, आचार्यले भन्नुभयो, “धान र कोदो दुवैको उत्पादकत्व बढेको छ ।” यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती गर्ने गरिएको छ ।

लेकाली क्षेत्रका किसानले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ । कोदो भने स्थानीय जातको खेती हुनेगर्छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुन्छ । जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भुरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ ।

यी क्षेत्र धान उत्पादनका हिसाबले पकेटक्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन । म्याग्दी जिल्लामा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन छ । यसमध्ये १६ सय ८० हेक्टरमा बाह्रैमहिना सिँचाइ हुन्छ भने भमर हजार तीन सय ३३ हेक्टरको जमिनमा मौसमी सिँचाइ हुने गरेको छ । रासस