• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: १९ मध्ये दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह ★   टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर ★   पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र ★   प्रतिनिधिसभा बैठक: खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद् भएको सांसदको गुनासो

सूर्योदय हेर्ने पर्यटकले मानहुँकोटका होटल खचाखच



तनहुँ । सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएकाछन् । सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ ।

असोजदेखि आन्तरिक पर्यटकको चाप बढेपछि होटल खचाखच भरिएको मानहुँकोटस्थित होटल भ्यू टावरका सञ्चालक प्रेम रावतले बताउनुभयो । आफूहरुसँग रहेको सात वटा कोठा र दुई वटा त्रिपाल दुई तीन दिन पहिल्यै बुक भइरहेको उहाँले सुनाउनुभयो । “मानहुँकोटमा अहिले पर्यटकको चाप बढ्दा होटल पनि खचाखच भरिएको छ”, रावतले भन्नुभयो, “पर्यटकीय याममा दुई/तीन दिन पहिले नै होटल बुक हुने गर्दा हामीलाई पनि राहत मिलेको छ ।”

पर्यटकको चाप बढेपछि मानहुँकोटमा १० वटा होटल सञ्चालनमा आइसकेका छन् । धेरै पर्यटक मानुहुँकोट आउन भन्ने उद्देश्यले आफूले समूहमा आउनेलाई लक्षित गरी एक रात बास, दुई छाक खाना, नास्ता र चियासहित प्रतिव्यक्ति एक हजार एकसय कायम गरेको होटल मानहुँकोट एण्ड रिसोर्टका सञ्चालक पूर्ण श्रेष्ठले बताउनुभयो । आफूले तीन वटा त्रिपालबाट मानहुँकोट आउने पर्यटकलाई सेवा दिएको मानहुँकोट होटलका सञ्चालक ३० वर्षीय मिलन थापामगरले बताउनुभयो । आफूले प्रतित्रिपालको शुल्क प्रतिरात रु एक हजार लिने गरेको बताउनुभयो । “मैले त्रिपालमा राखेर पर्यटकलाई सेवा दिँदै आएको छु, एउटा त्रिपालमा चार जनासम्म सुत्न मिल्छ”,उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकको चाप बढेपछि होटलको क्षमता विस्तार गर्ने योजनामा छु ।”

आफूहरुले दैनिक ५० जनासम्म राख्ने गरी होटल सञ्चालनमा ल्याएको अम्रेला होटल एण्ड रिसोर्ट सञ्चालक सुनिल सुनामले बताउनुभयो । होटलमा दैनिक दुई/तीन सय जनालाई सेवा दिइरहेको उहाँको भनाइ छ ।

आफूलाई मानहुँकोटबाट देखिने सूर्योदय र बादलको दृश्य निकै आकर्षक लागेको धरानबाट आउनुभएकी ५२ वर्षीया निरु राईले बताउनुभयो । “बादलको दृश्य पनि यस्तो राम्रो देखिएला भन्ने मैले सोचेको थिइन, अझै यसको प्रचारप्रसार गर्न सके सबैलाई मानहुँकोटको बारेमा जानकारी हुने थियो”, उहाँले भन्नुभयो ।

मानहुँकोटको विकासका लागि आफूहरुले पर्खाल निर्माणलगायतको काम गरिरहेको व्यास नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल)ले बताउनुभयो । समुद्री सतहबाट करिब एक हजार एक सय मिटरको उचाइमा रहेको मानहुँकोट तनहुँको दमौलीबाट करिब सात किलोमिटरको यात्रामा पुग्न सकिन्छ । जाडोको मौसममा अन्य दिन दुई/तीन सय जना र बिदाको दिन आठदेखि नौ सय जनासम्म मानहुँकोट पुग्ने गरेका छन् ।