• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

जो रुटले पनि आईपीएल नखेल्ने, फिर्ता लिए आफ्नो नाम



एजेन्सी । इंग्ल्याण्डका ब्याट्सम्यान जो रुटले आईपीएल २०२४ बाट आफ्नो नाम फिर्ता लिएका छन् । रुटले सन् २०२३ मा राजस्थान रोयल्सबाट आईपीएलमा डेब्यु गरेका थिए ।

राजस्थान रोयल्सले शनिबार नोभेम्बर २५ मा एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । रुट आईपीएलबाट बाहिरिने दोस्रो इंग्ल्याण्ड क्रिकेटर हुन् । उनीअघि अलराउन्डर बेन स्टोक्सले पनि आईपीएल नखेल्ने निर्णय गरेका थिए ।

राजस्थानका क्रिकेट निर्देशक कुमार सांगकाराले भने, ‘वार्तालापको क्रममा रुटले आइपिएल २०२४ मा सहभागी नहुनेबारे जानकारी गराए । हामी उनको निर्णयको सम्मान गर्दछौं र उनको हरेक काममा सफलताको कामना गर्दछौं ।’

आईपीएल २०२४ को लागि डिसेम्बर १९ मा लिलामी हुनेछ । सबै टोलीले नोभेम्बर २६ मा रिटेन र रिलिज भएका खेलाडीको सूची आईपीएल प्रशासनलाई बुझाउनुपर्नेछ ।

भारतमा भएको एकदिवसीय विश्वकपमा सहभागी रहेका जो रुटलाई वेस्ट इन्डिज भ्रमणबाट पनि विश्राम दिइएको छ । ३ डिसेम्बरदेखि वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय र ५ टी–२० खेलको सिरिजका लागि इंग्ल्याण्डको घोषणा गरिएको टोलीमा रुट समावेश छैनन् ।

इंग्ल्याण्डको पुरुष टोलीका प्रबन्ध निर्देशक रोब कीले वेस्ट इन्डिज भ्रमणका लागि इङ्ल्यान्ड टोलीको घोषणापछि रुटलाई विश्वकपपछि विश्राम आवश्यक रहेको बताएका थिए । रुटले एकदिवसीय विश्वकपका ९ खेलमा ३०.६६ को औसतमा २७६ रन बनाएका थिए । यस अवधिमा उनले ३ अर्धशतक पनि बनाए ।