काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको संकलन एवं व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ ।
नेपालमा रहेका रक्तसञ्चार सेवा केन्द्र र युवा पुस्तामा रगत दान गर्नुपर्ने सन्देश फैल्याउने अभियान सञ्चलन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । नेपालमा आवश्यक रगत व्यवस्थापनका लागि रगत दान गर्ने कुरालाई हरेक व्यक्ति र समाजमा अभियानका रुपमा लैजान सके यसले आवश्यक समयमा रगतको कमी नहुने नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापाले बताउनु भयो । उहाँले रक्तदाताहरुलाई रगत दान गर्नुपर्छ भन्ने चेतना फैल्याउन आवश्यक रहेको बताउनु भयो । बजारमा अहिले रगतको अभाव भएको भ्रम फैल्याइएको बताउनु भयो ।
उहाँले कुनै एउटा समूहको रगत कमी भएको बेलामा रगत नै अभाव भयो भन्ने भ्रम फैल्याउने काम भएको बताउनु भयो । रक्तसञ्चार व्यवस्थापन समिति संयोजकसमेत रहनुभएका उहाँले चाडपर्वहरुमा रगत संकलनमा कमी आउने भएपनि अन्य समयमा खासै कमी नभएको बताउनु भयो । नेपालमा बसोवास गरिरहको मानिसमध्ये २ प्रतिशत मानिसले रगत दान गर्ने हो भने रगत अभाव नहुने जिकिर गर्नुभयो । उहाँले रगत पाइँदैन भन्नेकुराको अन्त्य गर्न सोसाइटीले विशेष कार्यक्रम अघि बढाउन लागेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘रगत एउटा स्वस्थ मानिसबाट नै प्राप्त हुन्छ । यसको कुनै विकल्प छैन । स्वस्थ रगत दिने व्यक्तिहरुबाट नै स्वस्थ रगतको व्यवस्थापन हुने भएकाले यसको सबैभन्दा महत्वपूर्ण कुरा रक्तदाताहरुलाई मोटिभेसन गर्ने, रगत दिनुपर्छ भनेर नै हो । समुदायमा यो कुरा लैजान अति आवश्यक छ । रक्त दान गर्ने संघ संस्था र व्यक्तिलाई मोटिभेट गर्न आवश्यक छ । अहिले यो अलि कमी भएको हो की भन्ने महशुस भएको छ । रक्तदातालाई बढी मोटिभेसन गर्नसके रगत कलेक्शन हुन्छ । रगतको अभाव भन्नाले सबै रगतको अभाव होइन । ब्लडका विभिन्न ग्रुपमध्ये कुनै एउटा ग्रुपको ब्लड सटेज हुँदा ब्लड सटेज भयो भन्ने म्यासेज जान्छ ।’
‘ब्लडको कमी नहोस् भनेर हामी लागिरहेका छौँ । मागअनुसारको रगत व्यवस्थापन गर्न सकिन्छ भनेर नै हामी लागिपरेका छौँ । चाडपर्वहरुमा ब्लड सटेज हुन्छ, त्यो बेला दान गर्ने मानिस कम हुन्छन् । तर त्यसको व्यवस्थापन हामीले गरिरहेका छौँ । नेपाल रेडक्रस सोसाइटीले मात्रै यसको चिन्ता गरेर, ब्लडको व्यवस्थापनको जिम्मेवारी पूरा गर्ने भुमिका त हामीले नै खेल्नुपर्छ तर डोनेशनका लागि तयार गर्ने जिम्मेवारी सबैको रहन्छ नै । नेपालमा बसोवास गरिरहको मानिसमध्ये २ प्रतिशत मानिसले डोनेशन गर्ने हो भने कहिल्यै ब्ल्डको सटेज हुँदैन । हामी अब चाँडै नै बढी भन्दा बढी कलेक्शन गरेर यो रगतको व्यवस्थापन गर्नेछौँ, पाइँदैन भन्नेकुराको अन्त्य गर्न लागिरहेका छौँ । काठमाडौं उपत्यकाका लागि हामीले केही ब्लड इमर्जेन्सीका लागि केही ब्लडको व्यवस्थापन गरिरहेका छौँ ।’
त्यस्तै नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक दिव्यराज पौडेलले देशभर पछिल्लो दुई वर्षमा दैनिक १२ सय युनिट रगतको माग हुने गरेको बताउनु भयो । उहाँले वार्षिक रुपमा रगतको माग गर्नेको संख्या साढे ४ लाख रहेको बताउनु भयो । काठमाडौं उपत्यकामा दैनिक ३५० युनिटको माग हुँदै आएको र वार्षिक रुपमा काठमाडौंमा १ लाख ३० हजार टनको आवश्यकता रहेको बताउनु भयो । उहाँले चाहिने रगत ८५ प्रतिशत क्याम्पहरुबाट आपूर्ति गर्ने गरेको र १५ प्रतिशत रक्तसञ्चार केन्द्रहरुमा नै आएर दान गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले देशमा चाहिने मात्राअनुसारको रक्तदाताको संख्यामा कमी रहेको बताउनु भयो । युवा र महिलाहरुलाई यसबारे सचेत बनाउनसके रक्तदाताहरु बढ्ने उहाँको भनाइ छ । नेपालमा लगभग २ प्रतिशत डोनरको आवश्यकता पर्ने भएपनि अहिलेसम्म ०.९ प्रतिशत मात्रै पुगेको बताउनु भयो । उहाँले सरकारले रगत व्यवस्थापनका लागि बजेट बढाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले देशभरको तथ्यांक हेर्दा गत दुई, तीन वर्षको १२ सय युनिट दैनिक माग भएको छ । त्यो भनेको साढे ४ लाख जति वार्षिक युनिटको माग छ । सामान्य अवस्थामा । काठमाडौं उपत्यकाको कुरा गर्दा दैनिक ३५० युनिटको माग छ । वार्षिक रुपले १ लाख ३० हजार सप्लाइ गर्नुपर्ने अवस्था छ । जति माग छ, त्यसको ८५ प्रतिशत क्याम्पहरुबाट आपूर्ति गरेका छौँ । बाँकी १५ प्रतिशत रक्तसञ्चार केन्द्रहरुमा नै आएर डोनेशन गर्नुपर्ने अवस्था छ । देशमा चाहिने मात्राअनुसारको डोनरको संख्या नपुगेको हुनाले १५ प्रतिशत जति ग्याप भएको देखिन्छ । त्यसमा पनि १८ प्रतिशत जति मात्रै महिलाको संख्या छ । युवाको संख्या असाध्यै राम्रो छ । युवाहरुलाई अझै बढाउन सकियो भने र महिलामा बढी चेतना बढाउन सके राम्रो हुनेछ । यो समन्वय, चेतना र सहकार्यसँग सम्बन्धित छ । पर्याप्त संख्यामा डोनरहरु अझै पुग्नुभएको छैन । नेपालमा लगभग २ प्रतिशत डोनरको आवश्यकता पर्छ, ०.९ मा पुगेका छौँ । गुणस्तरसँग सम्बन्धित चुनौति पनि छ । प्रविधिले फड्को मारिसक्यो तर हामीले फड्को मारेअनुसारको उच्चतम प्रविधिको प्रयोग केही स्थानमा मात्रै प्रयोग गरेका छौँ, नत्र पुरानै प्रविधि छ, जनशक्तिको प्रयोग पर्याप्त छैन । सरकारले ठूलो संख्यामा लगानी गर्नुपर्नेछ । त्यसले पूर्वाधारको विकास राम्रो हुनेछ । इमर्जेन्सी स्टक हामीले बढी भन्दा बढी विचार गरिरहेका छौँ । न्युनतम मौज्दात रक्तसञ्चार केन्द्रमा भयो भने कुनै अफ्ठ्यारो आपत्ति आउँदा शुन्यबाट शुरु गर्नु पर्दैन । वितरणमा असाध्यै ठूलो भुमिका अस्पतालको हो । अस्पतालको पूर्जाअनुसार बिरामीले लिएर जाने हो । अस्पतालमा रगतको प्रयोग कसरी भयो भन्ने ट्रयाकिङ सिस्टम बनाउन जरुरी छ । रक्तसञ्चार सेवा केन्द्रहरुको आपसी समन्वय आवश्यक छ । त्यसले अहिले भएको धेरै समस्या समाधान हुन्छ । पालिकाहरुले पनि यसमा बढी भन्दा बढी क्याम्प सञ्चालन गरेर सहयोग गर्न सक्नुहुनेछ । त्यसमा बढी कार्यक्रम गराउनुपर्छ । सहकार्य र सहयोग बढाउनसके राम्रो हुन्छ ।’
निर्देशक पौडेलले रगत व्यवस्थापनमा रक्तसञ्चार सेवा केन्द्रहरुको आपसी समन्वय आवश्यक रहेको पनि बताउनु भयो ।