• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नबिकेपछि खेतमै कुहिन लाग्यो सयपत्रीफूल



फाईल फोटो

झापा : व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ ।

बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाउनुभएको थियो । गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साही बनेर यसपालि खेती विस्तार गर्दा लगानी नै बर्बाद भएको उहाँले गुनासो गर्नुभयो ।

तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुँगाले बजार जमाएपछि स्वदेशी सयपत्री फूलको उत्पादन बिक्री नभएको उहाँको भनाइ छ । “भारतबाट सयपत्री फूल र कागजको माला भित्र्याउन पाइँदैन भन्ने सुनिएको थियो”, उहाँले भन्नुभयो, “जब तिहारमा फूल बिक्री हुने दिन सुरु भयो, भारतबाट ल्याइएका सयपत्री फूलको मालामात्र होइन थुँगा नै बजारभरि देखियो । हामीले कत्रो मेहनत गरेर फुलाएका फूल बिक्दै बिकेनन् ।”

अहिले उहाँको फूलखेतीमा दुई हजार पाँच सय केजी (२५ क्विन्टल) सयपत्री ढकमक्क फुलेको छ । कोलकाताबाट झिकाइएको बाह्रमासे सयपत्रीले यसपालि राम्रो उत्पादन दिएको उहाँकोे भनाइ छ । हालको बजारभाउअनुसार तिहारमा कम्तीमा रु पाँच लाखको फूल बिक्री हुने आशा गर्नुभएको उहाँले रु ७० हजारको मात्र फूल बिकेको जानकारी दिनुभयो । उहाँले फूलखेतीमा रु एक लाखभन्दा बढी लगानी गरेको बताउनुभयो ।

सुरुमा प्रतिकेजी रु दुई सय ५० मा फूल बोटबाटै बिक्री भएता पनि तिहारको मुख्य दिनमा रु ५० प्रतिकेजीका दरले बेच्न खोज्दासमेत ग्राहक नपाउँदा ज्यादै निराश बनेको उहाँको गुनासो छ । “ताजा फूललाई बोलेरो गाडीमा राखेर साउन्ड सिस्टमबाट प्रचार गर्दै गाउँसहर डुलाउँदासमेत बिकेन”, उहाँले बताउनुभयो ।

जिल्लामा तिहारको बेला रु एक करोडको सयपत्री फूल र रु १० करोडको झिलीमिली बत्ती बिक्री हुने गरेको छ । खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सपयत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन् ।

स्थानीय व्यापारीहरू भारतबाट आएको सयपत्री फूलको माला रु २५ प्रतिकेजीका दरले बिक्री भएको बताउँछन् । भन्सार अधिकारीहरूका अनुसार नेपालको फूल उत्पादक संस्थाले भारतबाट सयपत्री आयातमा प्रतिबन्ध लगाएको प्रचार गरेता पनि सरकारी निकायबाट कुनै प्रतिबन्ध घोषणा भएको थिएन ।

खेतमै खेर जाने अवस्थामा रहेका सयपत्री फूललाई आयुर्वेदिक औषधि उत्पादकहरूले खरिद गरेर लैजान्छन् भनेर सुनेता पनि त्यस्तो कुनै संस्था सम्पर्कमा नरहेको बिर्तामोडका किसान दलबहादुर अधिकारी बताउनुभयो । चाडपर्व बितिसकेको हुँदा मालाका लागि फूल बिक्ने अब सम्भावना छैन ।

सयपत्री फूललाई सात डिग्री सेल्सियस तापक्रममा राख्दा केही अवधि ताजा राख्न सकिन्छ । तर बिर्तामोडका शीतभण्डारले अरु उत्पादन राखेका कारण सयपत्री फूलका लागि उचित तापक्रम मिलाउन गाह्रो पर्ने बताएको अधिकारीले बताउनुभयो । “शीतभण्डारमा राख्न पाइएन र कसैले किनेर लगेनन् भने खेतमै सयपत्री कुहिएर गएको टुलुटुलु हेर्नुपर्ने अवस्था आउँछ”, उहाँले भन्नुभयो ।रासस