५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुख्र्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन



अ+ अ-

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–२ तीनपाटे निवासी ३२ वर्षीय अर्जुन गजमेरले चार वर्ष साउदी अरबमा काम गर्नुभयो । वैदेशिक रोजगारमा सोचेअनुरुप आम्दानी गर्न नसकेपछि उहाँ स्वदेश फर्किनुभयो । स्वदेश फर्किएपछि उहाँले पुख्र्यौली आरन पेसालाई अगाडि बढाउनुभयो ।

गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध हुनुहुन्छ । हातमा सीप, मनमा जाँगर र आँट भए जुनसुकै कामबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उहाँले प्रमाणित गर्नुभएको छ । आरन पेसाबाट वार्षिक रू सात लाख आम्दानी भइरहेको गजमेरले जानकारी दिनुभयो । साउदी अरब रोजगारीमा रहँदा साहुले लगाएको वचनका कारण स्वदेश फिर्ता भई पुर्खाले गर्दै आएको आरन पेसा सञ्चालन गरेको उहाँले बताउनुभयो ।

“विभिन्न कम्पनीमा कामका लागि गएका नेपालीले तोकिएको काम र पारिश्रमिक नपाउने, गाली र यातनाका साथै दुव्र्यवहार खेप्नुपरेको अनुभव छ । मैले स्वदेश फर्किएपछि पुख्र्यौली पेसालाई सुरु गर्ने सोच बनाएँ । अहिले वार्षिक रू सात लाखसम्म आम्दानी हुन्छ”, गजमेरले भन्नुभयो । गत वर्षमात्रै पर्यटन तथा उद्योग कार्यालय तनहुँमा परम्परागत अङ्कित आरन व्यवसाय दर्ता गरेको उहाँले बताउनुभयो ।

आरन व्यवसाय सञ्चालनका लागि गोल सिद्धथान, देवीथुम्का र पार्चे सामुदायिक वन उपभोक्ता समितिका साथै स्थानीय व्यक्तिको सहयोग लिँदै आएको गजमेरको भनाइ थियो । हँसिया, खुर्पा, कुटो, कोदालो, कोदाली, बञ्चरो, खुँडा, तरबार, खुकुरी, करौँती, फाली, करुवा, बसिला, छिनो, चिम्टालगायतका घरेलु हतियार, कृषि औजार निर्माण तथा तयारी, मर्मत र अर्चप्ने काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

सिजनमा दैनिक रू छ/सात हजार आम्दानी गर्ने गजमेयरले आरन व्यवसायमा अन्य दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । आरन पेसाबाटै भएको आम्दानीबाट घर व्यवहार चलाउन सहयोग पुगेको उहाँको भनाइ छ ।

गजमेरले भन्नुभयो, “यही पेसाबाट भएको आम्दानीले छोराछोरीलाई बन्दीपुरको बोर्डिङ स्कुलमा गुणस्तरीय शिक्षा दिन सकेको छु ।” सुरुका दिनमा ३५ जना गाउँलेबाट प्रतिव्यक्ति रू एक हजारका दरले सहयोग प्राप्त गरी व्यवसाय सञ्चालन गरेको उहाँको भनाइ थियो ।

यहाँ उत्पादित कृषि औजार खुर्पा रू दुई सयदेखि रू दुई हजार पाँच सय, कुटो रू पाँच सय, कोदालो रू आठ सयदेखि रू दुई हजारसम्म, बञ्चरो रू एक हजारदेखि रू दुई हजार पाँच सयसम्म, खुँडा रू एक हजार पाँच सयदेखि रू आठ हजारसम्म, बसिला रू पाँच सयदेखि रू एक हजार पाँच सयसम्म बिक्री हुने गरेको गजमेरले जानकारी दिनुभयो । पुराना औजार मर्मतका लागि रू एक सय ५० र अर्चपेको रू ६० लिने गरेको उहाँले बताउनुभयो ।

“आरन पेसा हाम्रो पुख्र्यौली पेसा हो । गाउँमा आरन पेसा लोप हुँदा गाउँलेलेसमेत दु:ख पाएका थिए”, गजमेरले भन्नुभयो, “मैले यो पेसा सुरु गरेपछि गाउँलेले सेवा पाएका छन् भने म स्वरोजगार बनेको छु ।” यहाँ उत्पादित घरेलु हतियार तथा कृषि औजार घरघरमै पुगेर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले सुविधा खोज्छन् । म किसानकै घरदैलोमा गई सेवा दिँदै आएको छु । यहाँ उत्पादित कृषि औजार बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका र देवघाट गाउँपालिकामा बिक्री हुने गरेको छ ।”

सामाजिक सञ्जालमा सक्रिय गजमेरले यसको उपयोग गरी कृषि औजारको प्रचार र बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “टिकटक र फेसबुकमा मैले हालेको भिडियो हेरेर बन्दीपुर घुम्न आएका व्यक्ति मसँग सम्पर्कमा आउनुहुन्छ । उहाँहरुले कृषि औजार खरिद गरेर लैजानुहुन्छ ।” गाउँपालिकाले रू एक लाख प्रोत्साहनस्वरुप प्रदान गरेको गजमेरले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीबाट फर्किएर आरन पेसा सञ्चालन गरेकामा प्रोत्साहनस्वरुप नगद प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । त्यस्तै आरन संरक्षण तथा प्रवद्र्धनका लागि रू ४० हजार सहयोग गरिएको उहाँले बताउनुभयो । रासस