२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकको रोजाइमा ढोरपाटन सिकार आरक्ष



अ+ अ-

ढोरपाटन (बागलुङ) : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन वर्षौँदेखि चर्चित छ । प्राकृतिक सुन्दरताले भरिए पनि यहाँसम्म पुग्ने सडकको दुरावस्था र अन्य विकासले जोडिन नसक्दा पछाडि परेको छ । पूर्वाधार अभावमा गुज्रिदै आए पनि यहाँ पर्यटक भने बाह्रै महिना फाट्टफुट्ट पुग्ने गर्दथे । केही वर्ष अगाडिसम्म ढोरपाटनमा आउने पर्यटकको हिसाब थिएन । बाहिरबाट आउने पर्यटकका लागि बस्ने र खाने होटल तथा रेष्टुरेण्टको व्यवस्था पनि त्यत्ति राम्रो थिएन । तर अहिले ढोरपाटन पुग्ने हरेक पर्यटकको गणना हुन थालेको छ ।

आर्थिक वर्ष २०७७÷७८ देखि नेपाली सेनाले ढोरपाटन प्रवेशद्वार देउरालीमै आगन्तुकको गणना गर्नुपर्छ । पछिल्लो समय विगतका तुलनामा ढोरपाटन आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । पहिलो जनैपूर्णिमा र वैशाखेपूर्णिमा मात्रै आउने गरेकामा दुई वर्षयता बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । हिउँदमा हिउँ खेल्न र गर्मीमा शितलाका लागि ढोरपाटन आउनेको सङ्ख्या ठूलो छ । अझ यस वर्ष दसैँ बेला निकै ठूलो सङ«ख्यामा पर्यटक आएको पाइन्छ । विदेशी पर्यटक सिकारयामका बेला सिकार खेल्न हेलिकप्टरमार्फत आउने गर्छन् । त्यसबाहेक गाडी तथा मोटरसाइकलमार्फत घुम्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । ढोरपाटन सिकार आरक्षको कार्यालयका अनुसार पछिल्लो दुई महिनामा ढोरपाटन घुम्न आउनेको सङ्ख्या दुई हजार छ सय नौ छ ।

असोज महिनामाभन्दा कार्तिक महिनामा बढी पर्यटक ढोरपाटन आएको सिकार आरक्षको तथ्याङ्कमा उल्लेख छ । असोजमा नेपाली चार सय ७५ र विदेशी २१ गरी चार सय ९६ ढोरपाटन आएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिनुभयो । कात्तिक दसैँ तिहारको महिना भएको हुँदा यस बेला दुई हजार एक सय १३ पर्यटक आएको उहाँको भनाइ छ । कात्तिकमा दुई हजार ९७ नेपाली र १६ विदेशी पर्यटक आएको उहाँ बताउनुहुन्छ ।

गत आवमा सात हजार छ सय ४५ आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन आएकोमा चालु आवको चार महिनामा तीन हजार नौ सय ९९ पर्यटक भित्रिएको सूचना अधिकारी पङ्गेनीको भनाइ छ । अहिलेनै चार महिनामै चार हजार पर्यटक भित्रिसकेको भन्दै चालू आव सकिदासम्म गत वर्षको तुलनामा धेरै बढी आउने आँकलन गरेको उहाँले बताउनुभयो । गत वर्ष १९ लाख ६२ हजार पाँच सय राजस्व सङ्कलन भएकोमा चालु आवमा बढ्न सक्ने सूचना अधिकारी पङ्गेनी बताउनुहुन्छ ।

उहाँलेभन्नुभयो, “अहिले पर्यटक आगमन निकै बढी छ, यही हिसाबले पर्यटक आइराखे यस बढी आउने सम्भावना देखिएको छ, हरेक दिन आन्तरिकसँगै विदेशी पर्यटक ढोरपाटनमा आएको पाइन्छ, यसले राजस्व वृद्धि हुने छ ।”

ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले शुल्क तिरेर प्रवेश पाउने गरेकोमा आव २०७७÷७८ आन्तरिक पर्यटकले सय प्रवेश शुल्क तिर्ने प्रावधान ढोरपाटन शिकार आरक्षले बनाएको छ । शिकार आरक्षको अनुसार आव २०७६÷७७ सम्म विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्दै आएको आरक्षणले दुई वर्ष अघिदेखि स्वदेशी पर्यटकको तथ्याङ्क राख्दै आएको छ ।

ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले पछिल्लो समय प्रचारप्रसार बढी हुँदा पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । बुर्तिबाङदेखि देउरालीसम्मको सडक निकै अप्ठ्यारो हुँदा पर्यटकले सास्ती खेप्नुपरेको भन्दै निर्माण कम्पनीले ढिला सुस्ती गरेको उहाँको भनाइ छ । अहिले ढोरपाटनमा पर्यटकका लागि बस्ने र खाने राम्रो व्यवस्था हुन थालेपछि घुम्न आउनेको सङ्ख्या हरेक दिन बढ्न थालेको कार्यवाहक नगरप्रमुख कायत बताउनुहुन्छ । पहिले बिहान गएर साँझ फर्ने गरे पनि अचेल धेरै जसो बास बस्ने गरि आउने गरेको उहाँको भनाइ छ ।

“ढोरपाटन उत्कृष्ट गन्तव्यमा पर्छ, तर अहिलेसम्म विकास हुन नसक्दा धेरै पर्यटक भित्र्याउन सकेको अवस्था थिएन, अहिले पर्यटक आगमन निकै उत्साहजनक छ, अप्ठ्यारो सडकमा पनि पर्यटक गाडी लिएर आएको पाइन्छ, अहिले ढोरपाटनमा केही सुधार भएको छ, होटल रेष्टुरेण्ट पनि बढ्दै गए, पाहुनालाई खान र बस्नको समस्या छैन”, कायतले भन्नुभयो , “प्रचारप्रसार पनि तीव्र हुँदा पहिलेको तुलनामा अहिले पर्यटक धेरै आएको पाएका छौँ, अझै बढ्ने अपेक्षा गरेका छौँ ।”

राष्ट्रिय समाचार समिति (रासस)




भर्खरै