६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङसँग तिहार मनाउन संस्कृतिमन्त्री चितवनमा



file photo
अ+ अ-

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायसँग तिहार मनाउन चितवन आउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले चेपाङ समुदायसँग तिहार मनाउन आफू चितवन आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चेपाङ समुदायले तिहार कसरी मनाउछन् हेर्नुछ । उनीहरुसँग बसेर देउसी, भैलो खेल्नु छ ।” नेपालमा चेपाङ समुदायको धर्म संस्कृति, भाषा लोप हुने खतरामा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चेपाङको धर्म संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी छ ।” मान्छेहरु पुरानो संस्कृति हेर्ने इच्छा गरेको देखिएको बताउँदै उहाँले चेपाङ समुदायको धर्म संस्कृति र भाषा संरक्षण गरेर पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । उनीहरुको भाषा, धर्म र संस्कृति लोप भए नेपाल बहुजाति, धर्म संस्कृति भएको देश भन्न नसकिने उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले भरतपुर विमानस्थलको धावनमार्ग चार सय मिटर थप गर्नेगरी काम भइरहेको बताउनुभयो । नेपालको काम नगर्ने संस्कृतिको अन्त्य गर्दै सरकारले विमानस्थलको धावनमार्ग बढाउनका लागि नेपाली सेनासँग कुरा गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला सेना र घोडा प्रजनन केन्द्र सार्ने कुरा गरेका थियौँ । वनका कारणले समस्या भयो । अब धावनमार्ग बढाउन सेनासँग छलफल भइरहेको छ ।” सेनासँग सहमति गरेर सेना पनि त्यहीँ रहनेगरी धावनमार्ग बढाउनका लागि तिहारलगत्तै छलफल गरेर टुङ्गो लगाउने उहाँको भनाइ थियो । धावनमार्ग बढेसँगै ७२ सिटे जहाज अवतरण गर्न सकिने र रात्रिकालीन उडान गर्न सकिने उहाँले बताउनुभयो ।

वैज्ञानिक योजनाका आधारमा भन्दा पनि राजनीतिक दबाबका आधारमा विमानस्थल बन्ने गरेको बताउँदै उहाँले विमानस्थललाई व्यावसायिक प्रयोगमा लैजान सरकार लागेको बताउनुभयो । निजगढ विमानस्थलको बाँकी काम अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय भएको बताउँदै उहाँले यसलाई अघि बढाउन मन्त्रालयले काम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विमानस्थल देशको आवश्यकता हो । काम अघि बढ्छ अब ।”

अरु विमानस्थल थप्ने विषयमा वैज्ञानिक अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो । जनताको माग र वैज्ञानिक अध्ययनका लागि कार्यदल बनाएर अघि बढेको उहाँको भनाइ छ । मन्त्री किरातीको रत्ननगर नगरपालिका वडा नं ११ मङ्गलपुरमा रहेको गामबेंसीको चेपाङ संरक्षण केन्द्रमा रहेका बालबालिकासँग देउसी, भैलो खेल्ने कार्यक्रम रहेको छ । केन्द्र सञ्चालन गर्दै आउनुभएका केपी किरण शर्माका अनुसार त्यहाँ एक सय ४५ जना चेपाङ बालबालिका रहेका छन् ।

त्यसपछि मन्त्री किराती इच्छाकामना गाउँपालिकाको चौकीभञ्ज्याङ र सप्रेमीस्थित चेपाङ समुदायमा पुग्नु हुनेछ । त्यहाँका चेपाङ संस्कृतिविद् भोटेबहादुर चेपाङको दम्पतीलाई सम्मान गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । चेपाङ ७९ वर्षीय हुनुहुन्छ ।

सोही क्षेत्रमा चेपाङ समुदायलाई मन्त्री किरातीले न्यानो कपडासमेत वितरण गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रधानमन्त्री हुँदा डा बाबुराम भट्टराई कालिका नगरपालिका–१० को तीनदोभानमा आएर चेपाङ समुदायसँग रात बिताउनुभएको थियो । त्यतिबेला वडारमा रहनुभएका बन्दीपुरे चेपाङलाई सम्मान गर्नुभएको थियो । रासस