२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सयपत्री फूलखेतीको लागि ‘हब’ बन्दै तनहुँ



अ+ अ-

तनहुँ ।  नेपालीको दोस्रो महान पर्व तिहारमा अत्यधिक मात्रामा सयपत्री र मखमली फूलको प्रयोग हुन्छ । तिहारको मुख्य दिन भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपश्चात माला लगाइदिने प्रचलन छ ।

गाई, गोरु र कुकुर तिहारको अवसरमा पशुलाई समेत फूलको माला लगाएर पूजा गरिने हुँदा तिहारमा सयपत्री र मखमली फूलको अत्यधिक प्रयोग हुने गर्दछ । विगतका वर्षमा भारतीय सयपत्रीको माला नेपाली बजारमा प्रशस्त पाइने गरे पनि यस वर्ष नेपाल सरकारले भारतीय माला आयातमा प्रतिबन्ध लगाएपछि नेपाली फूलले राम्रो बजार मूल्य पाउन सक्ने देखिएको छ ।

सयपत्री फूलमा आत्मनिर्भर हुन यहाँका स्थानीय सरकारले किसानलाई अनुदान प्रदान गरी प्रोत्साहन गरेका छन् । जिल्लाका दश पालिकामध्ये आँबुखैरेनी, बन्दीपुर म्याग्दे गरी तीन पालिकाले आफ्नो पालिकाभित्र फूल उत्पादनका साथै प्रवद्र्धनमा सहयोग गर्दै आएका छन् ।

छोटो अवधि र थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय किसान पनि फूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् । विभिन्न स्थानीय तहमा पनि युवाले सामूहिक रुपमा वा एकल रुपमा सयपत्रीको खेती गरेका छन् । युवाले गरेको सयपत्री फूलको खेतीलाई स्थानीय तहले प्रवद्र्धन गर्न सुरु गरेको छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकामा करिब २६ रोपनी क्षेत्रफलमा गरेको फूलखेतीबाट उत्पादन लिन सुरु गरेको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि परिसमा व्यवसायिक फूलखेती गरिएको हो । व्यावसायिक र आयमूलकका साथै सयपत्रीमा पालिका क्षेत्रलाई ‘हब’ बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

याञ्चोकमा ३५ र आँधीमूल आमा समूहका १५ जना जनशक्ति दैनिक खट्दै आएका छन् । उक्त जनशक्तिले फूल टिप्ने र माला बनाउने कार्यमा तल्लिन हँुदै आएका छन् । असोज १५ गतेदेखि फूल टिपेर माला बनाई बिक्री समेत गर्न थालिएको छ । तयार गरिएका एक हजार थान मालामध्ये ५० प्रतिशत बिक्री भैसकेको बताइएको छ ।

महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत अनुदानमा फूलका बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरेको गाउँपालिका कार्यालयले जनाएको छ । गोरखा, दमौली र काठमाडौँलगायत सहरबाट तिहारको लागि आठ हजार मालाको माग भइसकेको र माग आउने क्रम पनि जारी रहेको उहाँले बताउनुभयो ।

“मुख्य याममा गुणस्तर हेरी प्रतिमाला रु ४० देखि रु ७० सम्म बिक्री गर्ने योजना रहेको छ”, उहाँले भन्नुभयो, “अफसिजनमा प्रतिमाला खुद्रा रु एक सयदेखि एक सय २० सम्म बिक्री गर्ने लक्ष्य राखिएको छ । पहिलो वर्षको अनुभव रहेकाले प्राविधिक व्यवस्थापन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आउँदो वर्ष समयमै सुधार गर्ने गरी अहिले पूर्ण रुपमा फक्रिएका फूल टिपेर माला बनाई चिस्यान केन्द्रमा राख्न थालिएको छ ।”

सोही वडास्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्था लिमिटेडको चिस्यान केन्द्र बिग्रिएकाले गाउँपालिकाले मर्मतसम्भार गरी प्रयोगमा ल्याइएको हो । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री प्रवद्र्धधन कार्यक्रमलाई अघि बढाइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उत्पादनलाई आयआर्जनमा जोडेर स्थानीयवासीको आर्थिकस्तर उकास्ने लक्ष्य गाउँपालिका कार्यालयले लिएको उहाँ बताउनुहुन्छ ।

दुईवटा आमा समूहलाई पहिलो वर्षमा रु ९० हजार अनुदान प्रदान गरे पनि आगामी वर्षदेखि गाउँपालिकाले प्राविधिक सहयोग मात्रै गर्ने योजना रहेको छ । आमा समूहले पहिलो वर्षमा फूलखेतीबाट गरेको आम्दानीलाई बर्सेनि सयपत्री फूल व्यवसायलाई निरन्तरता दिनुपर्ने प्रावधान रहेको छ ।

मित्रता माविको हकमा भने ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत एकमुष्ट रु तीन लाख अनुदान प्रदान गरी आयआर्जनबाट विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने लक्ष्य गाउँपालिका कार्यालयको रहेको छ । त्यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका–५ थुम्का,कल्चोक लगायतका स्थानमा चालिस रोपनी जमिनमा फूल खेती गरिएको   छ । विगत केही वर्षदेखि यहाँका स्थानीय किसानले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका हुन् ।

फूलमा आत्मनिर्भर हुँदै आर्थिक क्षेत्रमा समेत सक्षम हुन व्यावसायिक फूल खेतीलाई निरन्तरता दिइएको किसान तामप्रसाद भट्टले जानकारी दिनुभयो । “फूलमा आत्मनिर्भर बन्दै बाह्य जिल्लामा निर्यात गर्न सफल भइएको छ”, उहाँले भन्नुभयो “अघिल्ला वर्षहरुमा थोरै क्षेत्रफलमा फूल लगाए पनि यस वर्ष चार रोपनी क्षेत्रफलमा खेती गरेको छु ।”

उहाँले उत्पादित फूल जिल्लाभित्र र नारायणगढमा लगेर बिक्री गर्ने गर्नुभएको छ । प्रतिमाला रु दुई सयदेखि तीन सय ५० सम्म बिक्री हुने गरेको उहाँको भनाइ छ । यस वर्ष करिब रु डेढ/दुई लाखसम्मको फूल बिक्री हुने अपेक्षा रहेको किसान भट्ट बताउनुहुन्छ । त्यस क्षेत्रका फूल उत्पादक किसानले मुख्य याममा रु एक लाख बढीको बिक्री गर्ने गरेका छन् ।

भारतको तुलनामा नेपालमा फूल उत्पादनमा लागत बढी पर्ने भएकाले चाडपर्वको समयमा भारतबाट आउने फूलको मूल्यसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको अर्का किसान नारायण लामिछानेले बताउनुभयो । यसपटक सरकारले भारतीय मालालाई आयातमा प्रतिबन्ध लगाएकाले स्वदेशी उत्पादनले प्राथमिकता पाएको बताउँदै उहाँ भन्नुहुन्छ, “स्वदेशमै उत्पादन गर्न सकिने अन्य कृषिजन्य वस्तुहरुमा पनि यसरी नै प्रतिबन्ध लगाएमा  नेपाली कृषक प्रोत्साहित हुनेछन् ।”

बिरुवा लगाएको चार महिनाभित्र फूल उत्पादन लिन सकिन्छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान  व्यावसायिक रुपमा यसतर्फ आकर्षण हुँदै गएका छन् । उक्त वडालाई बाह्रै महिना फूल उत्पादन गर्ने क्षेत्रका रुपमा विकास गर्ने योजना बनाएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो ।

आगामी वर्षदेखि उक्त वडामा नर्सरी बनाएर गाउँपालिकाले उन्नत जातको फूलको बीउमा अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइने उहाँले बताउनुभयो । उक्त क्षेत्रमा गरिएको व्यावसायिक फूल खेतीको आफूले स्थलगत अवलोकन गरिसकेको अध्यक्ष थापाले बताउनुभयो । “फूलखेतीबाट आफू प्रभावित भएको बताउँदै अध्यक्ष थापाले आगामी वर्ष समयमै गाउँपालिकाको सक्रियतामा किसानलाई प्रोत्साहन गर्ने गरी काम गरिने छ”, उहाँले भन्नुभयो ।

त्यसैगरी म्याग्दे गाउँपालिका–५, स्थित ठूलोखेतमा स्थानीय सुसन पौडेलले करिब चार रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गर्नुभएको छ ।

म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को पुष्प खेती विकास कार्यक्रमअन्र्तगत पौडेलले पालिकाबाट प्राप्त रु ५० हजार अनुदानसहित कूल रु ८० हजारको लगानीमा सयपत्री फूल खेती गर्नुभएको  हो । चाडपर्वका अवसरमा बर्सेनि लाखौँ रुपैयाँ विदेशिने हुँदा स्थानीय बजार र आवश्यकतालाई दृष्टिगत गरी तिहारमा खपत हुने फूल उत्पादनमा लागेको पौडेलले बताउनुभयो ।

स्वदेशी उत्पादनसँगै स्वरोजगारको अवसर मिल्ने भएकाले आर्थिक रुपमा पनि थप टेवा पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । यस वर्ष करिब रु तीन लाख बराबरको आम्दानी गर्ने उहाँको अपेक्षा रहेको छ । तिहारमा बाह्य देशबाट आउने फूल रोक्न सकिएमा फूलको व्यवसायले रोजगारीको अवसरसँगै आर्थिक उपार्जन गर्न सहज हुने देखिएको छ ।

स्थानीयस्तरमा उत्पादित फूलको प्रयोग गरेर कृषकलाई प्रोत्साहनस्वरुप सहयोग गर्न गाउँपालिकाका सबै किसानलाई आग्रह गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । फूल आयातमै बर्सेनि ठूलो रकम विदेशिने प्रथालाई रोक्न र फूलमा आत्मनिर्भर बनाउनका लागि स्थानीय तहले फूलखेतीलाई प्राथमिकता दिन आवश्यक रहेको उहाँको भनाइ छ । रासस