२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो बढेपछि बेँसी सारिँदै गोठ



अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन् ।

मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट पुश झार्न थालिएको बताउनुभयो । हिउँ पर्न थालेपछि बेँसीको खर्क सारिएको बताउनुभयो । मनाङ ङिस्याङ–८ जुलुमा ३७ परिवारले सामूहिकरूपमा भेडाच्याङ्ग्रापालन गर्दैआएका छन् । चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु भएको उहाँले बताउनुभयो ।

व्यावसायिकरूपमा पशुपालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उहाँले बताउनुभयो । गुरुङले भन्नुभयो, “गत वर्ष विभिन्न रोगले २२ चौँरी र ५५ च्याङ्ग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन ।” गत वर्ष हिमपहिरामा परी दुई सय ५० भन्दा बढी भेडाच्याङ्ग्रा तथा चौँरी मरेको सुनाउँदै उहाँले भन्नुभयो, “अहिले त झन् हिउँचितुवाले पनि सताएको छ ।”

पशुपालक किसान याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले चितुवाले बढी सताउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले चौँरी र भेडाच्याङ्ग्रा धेरै थिए । तर पाल्ने क्रम कम भएको छ । चितुवाको आक्रमण बढ्दा अझ समस्या थपिएको छ ।” अहिले साना बाच्छाबाच्छी जोगाउनै मुस्किल हुने गरेको गुरुङले सुनाउनुभयो । “केही बाच्छाबाच्छी चितुवाले आक्रमण गर्दा नै धपाउन पाएका हुन्छौँ । कहिले त कति बेला खायो नै थाहा हुँदैन । राहतका लागि झन्झट छ । राहतको रु पाँच–दश हजार लिन आउँदा जाँदा विभिन्न कागजात बनाउँदा रु २५ देखि ३० हजार खर्च हुने गरेको उहाँको गुनासो छ ।

गुरुङले भन्नुभयो, “पहिलेको जस्तो घाँस हुँदैन । घाँस अभावले अहिले झन्झन् माथिल्लो लेक गोठ सार्नुपरेको छ । न समयमा हिउँ पर्छ यसले गर्दा पनि घाँसको समस्या हुँदै गएको हो ।” मौसमलाई हामीले मिलाउन नसकिने हुँदा किसानले सास्ती भोग्दै आएको उहाँले बताउनुभयो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राईले भेडाच्याङ्ग्रा, चौँरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताउनुभयो । यहाँका स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उहाँको भनाइ छ ।

गत असार महिनादेखि अग्ला लेक लगिएका भेडाच्याङ्ग्रा र चौँरी बेँसीतर्फ गोठालाले झारिरहेका छन् । चिसो बढेसँगै लेकका खर्क खाली हुँदै आएको छ । कात्तिक मध्यबाट घरवरपर नै गोठ राखी खुवाउने गरिन्छ । अब होचा स्थानमा भेडाच्याङ्ग्रा र चौरीको गोठ राखिनेछन् । रासस