• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   स्वास्थ्यमा सुधार नआएपछि कैलाश सिरोहियालाई काठमाडौँ ल्याउने तयारी ★   मेरो र आफ्नो मान्छे खोज्ने परिपाटीको अन्त्य हुनुपर्छ: उपाध्यक्ष शाक्य ★   संसदीय छानबिन समितिको टीओआर प्रधानमन्त्रीलाई हस्तान्तरण ★   टीओआरमा ४ बुँदे सहमति (पूर्णपाठसहित) ★   टीओआरमा चार बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो ★   ५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब

जाजरकोट र रूकुम पश्चिम भूकम्प पिडितलाई नबिल बैंकको एक करोड सहयोग



काठमाडौं । नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो ।

जिल्ला विपद् व्यवस्थापन समिती जाजरकोटद्वारा संचालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुबेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन् ।

गत शुक्रबार मध्यरात जाजरकोटलाई केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा पश्चिम नेपालमा ठुलो धनजनको क्षति भएको थियो । प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने नबिल बैंकको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाका अनुसार बैंकले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, औषधी लगायतका एक करोड बराबरको राहत सामाग्री उपलब्ध गराउने भएको छ । ‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो’, उनले भने । उनले जाजरकोट र रूकुम पश्चिम दुवै क्षेत्रमा राहत सामाग्री उपलब्ध गराउने जानकारी दिए ।

राहत सामाग्री बोकेर नबिल बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुबेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेका थिए । नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा भइरहेको दैविक प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदै आएको छ ।