१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

गण्डकीद्वारा भूकम्पबाट प्रभावितको राहत तथा पुन:स्थापनाका लागि एक करोड सहयोग

गण्डकीद्वारा भूकम्पबाट प्रभावितको राहत तथा पुन:स्थापनाका लागि एक करोड सहयोग
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको राहत तथा पुन:स्थापनाका लागि रु एक करोड सहयोग गर्ने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । “भूकम्पबाट कर्णालीमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्काले सहयोग गर्नुपर्छ भनेर गण्डकी प्रदेश सरकारका तर्फबाट रु एक करोड दिने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो ।

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा आपत्कालीन मानवीय सहायता उपलब्ध गराउन शनिबार नै औषधिसहित चिकित्सकको टोली त्यसतर्फ पठाइएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना प्रकटसहित भूकम्पका घाइतको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

पोखरा महानगरपालिद्वारा सहयोग

पोखरा महानगरले जाजरकोट र रुकुम पश्चिमका भूकम्पका घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री पठाएको छ । पोखरा महानगरपालिका–७ का वडाध्यक्ष राममोहन आचार्यको नेतृत्वमा चिकित्सकसहित १७ जनाको राहत टोली मध्यपहाडी लोकमार्ग हुँदै भूकम्प प्रभावित क्षेत्रमा गएको हो ।

“स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको हाम्रो टोली आजै बेलुकासम्म भूकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोट पुगिसक्छ”, उहाँले भन्नुभयो, “औषधि, त्रिपाल, कम्मल, लत्ताकपडालगायत राहत सामग्री लिएर हामी त्यसतर्फ जाँदैछौँ ।” महानगरले भूकम्प प्रभावित क्षेत्रमा रु ५० लाखको सहयोगसमेत घोषणा गरेको छ ।

महानगरका जनप्रतिनिधिले एक महिनाबराबरको पारिश्रमिक भूकम्प प्रभावितको राहत कोषमा प्रदान गर्ने निर्णय गरेको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो । शनिबार नै गण्डकी प्रदेश सरकारले पनि आपत्कालीन मानवीय सहायताका लागि चिकित्सकसहितको उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।

पोखरास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहित औषधि र स्वास्थ्य सामग्री रुकुम पश्चिम र जाजरकोट पठाइएको प्रदेश सरकारले जनाएको छ । गण्डकी प्रदेशका अन्य निकाय र स्थानीय तहले पनि भूकम्प प्रभावितको उद्धार तथा राहत सहयोगमा सकेजति हातेमालो गरिरहेका छन् । बागलुङको बडिगाड गाउँपालिकाले चिकित्सकसहित स्वास्थ्य सहायताका सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।

स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीको नेतृत्वमा औषधिसहित स्वास्थ्यकर्मीको टोली रुकुम पश्चिम र जाजरकोट पठाइएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । उक्त टोली आइतबार बिहान भूकम्पबाट अतिप्रभावित रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पुगेर भूकम्पमा परी घाइते भएकाको उपचारसहित मानवीय सहायतामा जुटेको उहाँको भनाइ छ ।

“राष्ट्रिय विपद््का बेला सहयोग गर्नु मानवीय धर्म र कर्तव्य हो हामीले त्यसैलाई सक्दोरूपमा निभाएका हौँ”, गाउँपालिका अध्यक्ष अधिकारीले भन्नुभयो, “सबैले सहयोगको हात फैलाऔँ, भूकम्पबाट प्रभावितको घाउमा मलमपट्टी लगाऔँ, राज्यले पनि राहत तथा पुन:स्थापनाको ठोस योजना ल्याउन ढिलाइ गर्नु हुँदैन ।”

नवलपुरको मध्यविन्दु नगरपालिकाले पनि भूकम्प प्रभावितका लागि रु दुई लाख सहयोग गर्ने निर्णय गरेको छ । अन्य स्थानीय तहले पनि राहत सहयोग जुटाउन पहल गरिरहेका छन् । सामाजिक सङ्घसंस्था र जनस्तरबाट समेत भूकम्प प्रभावितका लागि सहयोग सङ्कलन सुरु भएको छ ।

गण्डकी प्रदेशसभा सदस्य डिल्लाराम सुवेदीले आफ्नो एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने हुनुभएको छ । भूकम्प प्रभावितको राहत तथा पुन:स्थापनाका लागि सरकारले स्थापना गरेको राहत कोषमा उक्त रकम प्रदान गर्ने प्रदेशसभा सदस्य सुवेदीले बताउनुभयो ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमका एक सय ५७ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा अकल्पनीय क्षति पुगेको छ । रासस