• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

पाकिस्तानको टप फोरको झिनो आशा, बंगलादेश बाहिरियो विश्वकपबाट



पाकिस्तानी बलर शाहिन अफ्रिदी

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा पाकिस्तानसँग पराजित भएसँगै विश्वकपको सेमिफाइनल प्रवेश गर्ने बंगलादेशको आशा समाप्त भएको छ, र विश्वकपबाट बाहिरिने पहिलो टिम बनेको छ ।

कोलकाताको इडेन गार्डेनमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो । यो जितसँगै पाकिस्तानले सात खेलबाट ६ अंक हासिल गरेको छ, र टप फोरमा प्रवेश गर्ने सम्भावना जीवितै राखेको छ ।

टस जितेर बंगलादेशले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर पाकिस्तानी धारिलो बलिङसामु बंगलादेश निरिह भएको थियो । बंगलादेशले ४५.१ ओभर खेल्दै सबै विकेट गुमाएर २०४ रन मात्र बनाएको थियो ।

बंगलादेशका लागि लिटोन दासले ४५, महमुदुल्लाहले ५६, कप्तान शकिब अल हसनले ४३, हसन मिराजले २५ रन बनाएका थिए । अन्य ब्याट्सम्यान सबै सस्तैमा पवेलियन फर्केका थिए ।

पाकिस्तानी बलरहरु शहिन शाह अफ्रिदी र मोहम्मद वसिमले समान तीन तीन विकेट लिएका थिए भने ह्यारिस राउफले २, इफ्तिखर अहमद र उसमा मिरले समान एक एक विकेट लिएका थिए ।

२०५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.३ ओभरमा तीन विकेट गुमाएर खेल जितेको थियो । पाकिस्तानका लागि ओपनरहरु अब्दुल्लाह शफिकले ६८ र फखर जमानले ८१ रनको पारि खेलेका थिए ।

कप्तान बाबर आजम ९ रन बनाएर क्याचआउट भएका थिए । मोहम्मद रिजवानले २६ र इफ्तिखर अहमदले १७ रन बनाए, उनीहरु दुबै अविजित रहे ।

उत्कृष्ट छ टिम

१. भारत – १२ अंक (६ खेल)
२. दक्षिण अफ्रिका – १० अंक (६ खेल)
३. न्युजील्यान्ड – ८ अंक (६ खेल)
४. अस्ट्रेलिया – ८ अंक (६ खेल)
५. पाकिस्तान – ६ अंक (७ खेल)
६. अफगानिस्तान – ६ अंक (६ खेल)