• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन ★   करेन्ट लागेकालाई बचाउन खोज्नेको मृत्यु, अर्का घाइते

महासचिव गुटेरेसको प्रतिक्षामा पर्यटकीय नगरी पोखरा



गण्डकी: आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ्रे सहितका हिमालका कारण मनमोहक बनेको छ पोखरा ।

पर्यटकीय याम भएका कारण यतिखेर स्वदेशी एवं विदेशी पर्यटकले भरिएको पोखरा आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसजस्तो अतिविशिष्ट व्यक्तिको स्वागतको पर्खाइमा छ ।

नेपालको औपचारिक भ्रमण रहनुभएका महासचिव गुटेरेसको भ्रमण तालिकामा पोखरा पर्नुले पोखरेलीहरू गौरवान्वित बनेका छन् । महासचिव गुटेरेस दिउँसो आउनुहुने कार्यक्रम रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुुभयो ।

महासचिवको भ्रमण पोखरेलीका लागि ठूलो गौरवको विषय भएको उल्लेख गर्दै महानगर प्रमुख आचार्यले आफूहरू उहाँको भव्य स्वागतको प्रतिक्षामा रहेको बताउनुभयो ।

कार्यक्रमअनुसार महासचिव गुटेरेस नेपाली सेनाको विमानबाट पोखरा आउनुहुनेछ । उहाँ सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण हुनेछ । विमानस्थलको १ नं वे मा विमान अवतरण भएसँगै उहाँलाई सोही स्थानमा पुगेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्वागत गर्नुुहुनेछ ।

यसपछि महासचिव गुटेरेसलाई विमानस्थलभित्रै गण्डकी प्रदेशका पर्यटन, उद्योग, बन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश प्रमुख सचिवलगायत १६ उच्च पदस्थ अधिकारीले स्वागत गर्ने कार्यक्रम छ ।

विमानस्थल परिसरमा पोखराको संस्कृति झल्कने झाँकीसहित पोखरेलीवासीका तर्फबाट उहाँको भव्य स्वागत गर्ने कार्यक्रम तय भएको महानगरप्रमुख आचार्यले जानकारी गराउनुुभयो ।

महासचिव गुटेरेसको पोखरा आगमन पोखराको विश्वव्यापी पर्यटन प्रवद्र्धनका लागि विशेष महत्व राख्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुुभयो । आफूहरू महासचिवको स्वागतको पर्खाइमा रहेको  जनाउँदै उहाँले पोखरासहित यस क्षेत्रको मौलिकता झल्कने किसिमका झाँकीहरू प्रस्तुत गर्न लागिएको बताउनुभयो ।

महासचिवको आगमनलाई लक्षित गरी सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

महासचिव गुटेरेस मङ्गलबार बिहान ६ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जानुहुने बताइएको  छ । अन्नपूर्ण आधार शिविरमा छोम्रोङ पर्यटन समितिले उहाँको स्वागतका लागि तयारी गरेको सचिव दिलीप गुरुङले जानकारी दिनुभयो ।

महासचिव गुटेरेसलाई परम्परागत पोसाकमा सजिएका महिलाले माला लगाएर स्वागत गर्ने तयारी गरिएको जनाउँदै उहाँले आफूहरू स्वागतका लागि आतुर भएको बताउनुभयो । रासस