२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको ‘फ्लोर क्रस’को काठमाडौंलाई सन्देश के हो ?



अ+ अ-

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको मुख्यमन्त्री पद शुक्रबार बालबाल बँच्यो । जसका लागि नेकपा एमालेको माधव नेपाल पक्षले बलिदान नै दियो भन्दा हुन्छ । सो समूहका चार जना सांसदले शाहीलाई मत दिए र उनको पद यस पटकलाई बच्यो । 

नेकपा एमालेले ह्वीप लगाएको थियो मुख्यमन्त्रीका विपक्षमा मतदान गर्न । अहिले एमाले भन्नाले आली अध्यक्ष रहेको समूह अर्थात् ओली समूह भनेर बुझिन्छ । 
त्यही समूहले लगाएको ह्विप नेपाल समूहले धोती लगाइदियो । सो समूहका चार जना सांसदले ‘फ्लोर क्रस’ गरे, पार्टी ह्वीपको विपक्षमा मत हाले, जसले गर्दा माओवादी मुख्यमन्त्रीको पद जोगियो । 

त्यसो भए यो ‘फ्लोर क्रस’ सामान्य हो या यसले राष्टिय राजनीतिमा पनि धावा बोल्न खोजेको छ ? शुक्रबार साँझदेखि यो विचारणीय प्रश्नले एकाएक चर्चा पाएको छ । 

यो ‘फ्लोर क्रस’ कर्णालीको आन्तरिक राजनीति अर्थात् स्थानीय नेतृत्वको टकरावका कारण आन्तरिक खपतका लागि मात्र काम गर्छ या यसको तिर काठमाडौंतर्फ पनि फर्किएको छ ? कर्णालीको आन्तरिक राजनीतिले अब बागमतीलाई पनि छुने देखाएको छ । 

नेकपा एमालेको माधवकुमार नेपाल समूहले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर राष्ट्रिय राजनीतिलाई पनि सन्देश दिएको धेरै राजनीतिक विश्लेषकहरुको तर्क छ । 
उनीहरुको तर्क यो छ कि कर्णालीमा मुख्यमन्त्री शाहीलाई बचाउनभन्दा पनि ओली समूहलाई जसरी पनि विफल पार्न फ्लोर क्रस भएको हुन सक्छ, यो माधव नेपाल पक्षको भित्री तयारीको शुरुआत पनि हुनसक्छ । 

यसको अर्थ के हो ? यसको अर्थ यो हो कि अब केन्द्रमा पनि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुनसक्छ र यदि त्यसो भयो भने वा अविश्वासको प्रस्ताव आयो भने फ्लोस क्रस हुन पनि सक्छ । आजको कर्णाली घटनाले वास्तवमा यही सन्देश दिएको छ ।

कर्णालीले मुख्यमन्त्री शाहीलाई नबगाएपछिको अर्काे पनि सन्देश पनि बोकेको हुनसक्छ । नयाँ सरकारको नेतृत्व गर्न आग्रह गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूसँग बहुमत नै नभएपछि कसरी सरकार बनाउने भनेर प्रश्न गर्थे । उनको प्रश्न थियो ‘जनता समाजवादी पार्टी (जसपा) ले निर्णय नगरी हामी र नेकपा माओवादी केन्द्र मात्र भएर (बहुमत) पुग्छ ?’

हो, यदि देउवा सरकारको नेतृत्व गर्न इच्छुक नै हो भने उनलाई काठमाडौंको वैशाखको गर्मीमा कर्णालीको शीतलता हात लाग्न पनि सक्छ । अर्थात् शुक्रबार कर्णाली प्रदेशसभामा भएको ‘फ्लोर क्रस’ मार्फत नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र कांगे्रस सभापति देउवालाई एकसाथ सन्देश दिएको पनि हुन सक्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरिदिए । त्यस लगत्तै तत्कालीन नेकपा दुई खेमामा विभाजित भयो । नेकपा केन्द्रीय कमिटीको बहुमत सदस्यको साथ पाएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेर प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । तर देउवा नेकपाको अधिकारिकता विवाद नटुंगिएको भनेर अग्रसर भएनन् । 

त्यसो भए के अब यो फ्लोर क्रसको प्रचलन काठमाडौं पनि भित्रिएला ? यदि त्यसो हो भने यसले देउवाका लागि माधव नेपालहरु तयार रहन सक्लान ?

 सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको एकता खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतायो । त्यसयता प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार गठन गर्न पहल थालेका छन् भने एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले जसपासँग सहमति गरेर बहुमत जुटाउने प्रयास गरिरहेका छन् ।

तर यी दुवै प्रयास मात्र हुन्, ढुक्कको अवस्था दुवैमा छैन । त्यसैले ओलीले अब आफूमाथि बहुमत सांसदको विश्वास कायम गर्नुपर्ने पनि हुनसक्छ । 

तर आज साँझको कर्णालीको हर्कत राजधानी भित्रियो भने यसले ओलीलाई पनि बाँकी नराख्न सक्छ । नेपालको संसदीय इतिहासमा आफ्नै सरकार ढाल्न सांसद उपस्थित नभएका घटना त थिए नै तर पनि संसदीय इतिहासमा पहिलो पटक प्रतिनिधि सभामै फ्लोर क्रसको घटना हुन पनि सक्छ ।