• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   योग र ध्यानमा जोड दिनु आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ ★   बागमती प्रदेशसभा बैठक बस्दै ★   महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न ★   नेपाल र युएईबीचको खेल पनि घरेलु मैदानमा नहुने ★   पहिलो पटक चिडियाखाना पुगेका आश्रमका बालबालिकाले बाघ देखेपछि… ★   भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु ★   बाल्यकालका साथी, मैदानमै मस्ती ★   गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ: प्रधानमन्त्री ★   सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि नाराबाजी गर्ने निकोलस भुसाल पक्राउ ★   तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजया दशमीले प्रेरित गर्न सकोस्: उपराष्ट्रपति यादव



file photo

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले सामूहिकता र एकतालाई बढावा दिने तथा व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले विजया दशमी अभिप्रेरित रहेको बताउनुभयो ।

विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभयो ।

नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशीता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहुवेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गणतन्त्रले गरेको बताउनुभयो ।

भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार बडादसैँ, दशहरा, दुर्गापूजा, नवरात्री आदि नामले मनाइने विजयादशमी पर्व अधर्ममाथि धर्म, खराबमाथि असल एवम् असत्यमाथि सत्यको जीतका रुपमा परापूर्वकालदेखि हिन्दूले बनाउँदै आएको उहाँले उल्लेख गर्नुभएको छ ।

“आ–आफ्नो मौलिक चलन, परम्परा, रीतिरिवाज, विधि–विधान, अनुष्ठान र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा यो चाड बनाउनुले विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न सहयोग पुगेको छ”, उहाँले सन्देशमा भन्नुभएको छ ।

विजया दशमीले सामाजिक विविधतालाई सुदृढ र प्रगाढ बनाउँदै राष्ट्रिय भावनालाई थप मजबुत बनाउन उत्प्रेरित गर्ने उहाँको भनाइ छ । उपराष्ट्रपति यादवले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको विजया दशमीले अहंकार, लोभ, मोह, क्रोध जस्तो खराब आचरणबाट टाढा रहन पनि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । रासस