२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजया दशमीले प्रेरित गर्न सकोस्: उपराष्ट्रपति यादव



फाइल फोटो
अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले सामूहिकता र एकतालाई बढावा दिने तथा व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले विजया दशमी अभिप्रेरित रहेको बताउनुभयो ।

विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभयो ।

नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशीता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहुवेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गणतन्त्रले गरेको बताउनुभयो ।

भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार बडादसैँ, दशहरा, दुर्गापूजा, नवरात्री आदि नामले मनाइने विजयादशमी पर्व अधर्ममाथि धर्म, खराबमाथि असल एवम् असत्यमाथि सत्यको जीतका रुपमा परापूर्वकालदेखि हिन्दूले बनाउँदै आएको उहाँले उल्लेख गर्नुभएको छ ।

“आ–आफ्नो मौलिक चलन, परम्परा, रीतिरिवाज, विधि–विधान, अनुष्ठान र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा यो चाड बनाउनुले विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न सहयोग पुगेको छ”, उहाँले सन्देशमा भन्नुभएको छ ।

विजया दशमीले सामाजिक विविधतालाई सुदृढ र प्रगाढ बनाउँदै राष्ट्रिय भावनालाई थप मजबुत बनाउन उत्प्रेरित गर्ने उहाँको भनाइ छ । उपराष्ट्रपति यादवले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको विजया दशमीले अहंकार, लोभ, मोह, क्रोध जस्तो खराब आचरणबाट टाढा रहन पनि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । रासस