• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने

राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँः प्रधानमन्त्री



फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गर्नुभएको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर ‘गरे हुन्छ, परिवर्तन सम्भव छ’ भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा परेको दबाब, विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोधलाई दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर छिचोल्न सकिने बताउनुभयो ।

“नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ । यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।

उहाँले मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकामा जोड दिनुभएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन आह्वान गर्नुभएको छ ।

उहाँले नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक सहिष्णुता र सदभाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले विजया दशमीको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको कामनासमेत गर्नुभएको छ । रासस