• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   संसद बैठकमै माननीयज्युहरु घ्वाँरघ्वाँर निदाउनुहुन्छ: उपसभामुख राना ★   संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो: सभामुख घिमिरे ★   प्रचण्ड र ओलीबीचको वार्तामा रवि पनि थपिए ★   लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ ★   ‘कतिबेला बास उठ्ने हो थाहा छैन’ ★   पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल ★   नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते ★   ‘मीरा: स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी गरिने, पहिलो प्रदर्शनी पोखरामा हुँदै ★   टी–२० विश्वकप २०२४ मा कसले कुन अर्वाड पाए ? ★   पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार

सूर्योदय र कुहिरो हेर्न तनहुँको मानुङकोट



दमौली । तनहुँको मानुङकोटमा जाडो बढेसँगै पर्यटक पनि बढेका छन् । बिहानको घामको किरणसँगै कुहिरोले सर्लक्क ढाकेको दमौली बजार हेर्नका लागि पर्यटक बढेका हुन् ।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

त्यही कुहिरोले ढाकेको दृश्य र सूर्योदय अवलोकन गर्न तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । जाडो मौसम सुरु भएसँगै यहाँ पर्यटकको आगमन बाक्लिएको हो । गर्मी मौसममा प्रायः सुनसान रहने मानुङकोटमा चिसो मौसममा पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ ।

अहिले दसैँ बिदाका कारण पनि बिहानैदेखि पर्यटकको आगमन सुरु भएको स्थानीय अनिल अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अब मानुङकोटमा पर्यटकको चहलपहल बढ्ने बेला भयो, बडादसैँको नवौ दिन आज बिहानै एक हजारभन्दा बढी पर्यटकको आगमन भयो ।”

अधिकारीका अनुसार राति मानुङकोटमै बास बसेर बिहानको दृश्य हेर्नेहरु पनि बढेका छन् । त्यसका अलवा बिहानै मानुङकोट पुग्ने पनि उत्तिकै छन् ।

दसैँको समयमा काठमाडौँबाट दमौली आउनुभएकी पार्वती पौडेलले मानुङकोटको दृश्य लोभलाग्दो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँबाट देखिने दृश्यले मनै लोभ्यायो, एकपटक आएपछि फेरि आउन मन लाग्ने रहेछ ।”

जाडो महिनामा मानुङकोटमा पर्यटककको राम्रो चहलपहल हुने वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिरोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।” मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल खुुल्ने क्रम बढेको छ । उहाँले भन्नुभयो, “मानुङकोटको पर्यटन प्रबर्द्धनका लागि नगरपालिकाले पनि प्रयास गर्दै आइरहेको छ । प्रत्येक वर्ष मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता हुँदै आएको छ ।”

मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेकाहरु पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । रासस