• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन ★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना



फाईल फोटो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बडादसैँको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामथ्र्य प्रदान गरोस् भनी कामना गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यो पर्व सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि हो ।”

राष्ट्रपति पौडेलले मुलुकमा परम्परागतरूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न पनि थप योगदान गरिरहेको बताउनुभयो ।

बडादसैँमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्व उजागर गरिरहेको बताउँदै उहाँले दसैँलगायका महान् चाडपर्वको संरक्षण एवं संवर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विचार प्रकट गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ, “नेपालीहरूको महान् चाड बडादसैँ २०८० को शुभअवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

शक्तिको प्रतीकका रूपमा मनाइने बडादसैँ असोजको शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सोही दिनदेखि निरन्तर शक्तिरूपी नवदुर्गा भवानीको पूजा आराधना गर्दै दशमीका दिन भवानीको प्रसादस्वरूप मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न तथा पूर्णिमासम्म विशेषरूपमा मनाइँदै आएको प्रसङ्ग पनि उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले विजयादशमीको दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन रहेको तथा बडादसैँको उपलक्ष्यमा पारिवारिक जमघट एवं पुनर्मिलन भई खुुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको विषयसमेत जानकारी गराउनुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “बडादसैँ २०८० ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, असल कामलाई हौसला प्रदान गर्न र सकारात्मक ऊर्जा थप्न दुर्गा भवानीले आर्शीवाद दिउन् भन्ने शुभकामना प्रकट गर्दछु ।” रासस