१ असार २०८३, सोमबार
,
Latest
सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास



अ+ अ-

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताउनुभएको छ ।

एसिया–प्रशान्त क्षेत्रको तेस्रो इनर्जी फोरमलाई आज थाइल्याण्डको राजधानी बैङ्ककमा सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षभित्र थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले दीर्घकालीन नीति तर्जुमा गरेको बताउनुभयो ।

हाल प्रणालीमा दुई हजार आठ सय मेगावाट बराबरको बिजुली जोडिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपालमा नदी प्रवाह, अर्धजलाशय र जलाशयमा आधारित विद्युत् आयोजनाको अधिक सम्भाव्यता रहेको तथा सौर्य ऊर्जाको पनि उत्तिकै सम्भाव्यता रहेको जानकारी दिनुभएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ ।

नेपालको भौगोलिक विविधताका कारण अफ ग्रिड प्रणालीको आवश्यक भएको उल्लेख गर्दै उहाँले साना र मझौला प्रकृतिका प्रसारण प्रणालीमार्फत नवीकरणीय ऊर्जाको वितरण भइरहेको बताउनुभयो । ऊर्जा सुरक्षालाई नेपालले प्राथमिकतामा राखेको तथा खपत गरेर बचत भएकोे बिजुलीको व्यापारका लागि सीमापार व्यापारका प्रयासबारे जानकारी दिनुभयो ।

सरकारले आन्तरिक खपत बढाउनका लागि प्रसारण तथा वितरण लाइनको सुधार, प्रणालीको क्षमता वृद्धि, स्वच्छ ऊर्जा प्रवद्र्धन, स्वदेशी तथा विदेशी सार्वजनिक–निजी लगानी परिचालन गरी उत्पादन, प्रसारण, वितरण तथा व्यापार विस्तार चाहेको बताउनुभयो । साथै उहाँले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्नुभयो ।

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको जानकारी दिँदै वातावरणीय सुरक्षाका लागि पनि नवीकरणीय ऊर्जालाई नै प्राथमिकता दिएको बताउनुभयो । नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असर घटाउन अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगको नेपालले अपेक्षा गरेको बताउनुभयो । रासस