८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुवेखोलामा पक्की पुल निर्माण



अ+ अ-

दमौली (तनहुँ),। तनहुँको शुक्लागण्डकी नगरपालिका–१ र २ जोड्ने गुवेखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको उक्त पुल निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न भएर आज उद्घाटन गरिएको हो ।

पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले पुल निर्माणसँगै यस भेगका नागरिकको दैनिकी परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि पुलको अभावमा आवागमनमा सास्ती हुने गरेकामा अब सहज भएको भन्दै कृषि उपज तथा अन्य वस्तु बिक्री वितरणका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

“प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको छ । पुल, सडक, खानेपानी लगायतका क्षेत्रमा सरकारको सहयोग सदैव रहन्छ”, आलेले भन्नुभयो, “प्रदेशलाई समृद्ध बनाउँदै नगरवासीलाई आधारभूत सेवा र सुविधा उपलब्ध गराउने अभियानमा सरकार लागिरहेको छ ।”

रू दुई करोड २६ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७७ पुस २८ गते उक्त पुलको शिलान्यास गरिएको थियो । पुल २० मिटर लामो र ६ मिटर चौडा रहेको छ ।

साबिकको थप्रेक गाविसलाई वडाको केन्द्रदेखि नगरको केन्द्रसम्म सहज सडक सञ्जालको पहुँचमा ल्याउने उद्देश्यले पुल निर्माण गरिएको नगर प्रमुख पण्डितले बताउनुभयो । “पुल निर्माण, सडक कालोपत्रलगायत पूर्वाधार विकासले मात्र समृद्धि आउँदैन । समृद्धिका लागि कृषिमा विकास तथा उत्पादनसँग जोडिनपर्छ”, उहाँले भन्नुभयो । पुल बनेपछि थप्रेकवासीले उत्पादन गरेको कृषि उपज बजारमा पुर्‍याउन सहज हुने नगर प्रमुख पण्डितको भनाइ थियो ।

गुवेखोलामा पुल नहुँदा थप्रेकवासीलाई बर्खाको समयमा निकै समस्या हुने गरेको थियो । अब उक्त समस्या हटेको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार पुलकै अभावमा पाँचरसात मिनेटमा आवतजावत गर्न सकिने यस ठाउँमा तनहुँको कोत्रे हुँदै गाडीबाट एक घण्टाभन्दा बढी समय खर्चिनुपर्ने बाध्यता अन्त्य भएको छ ।

तनहुँको कोत्रे हुँदै थप्रेक जोडिने मार्गलाई विसं २०१८ मा सहिद लालध्वज गुरुङको सम्मानार्थ लालध्वज मार्ग नामकरण गरिएको थियो । तनहुँको सदरमुकाम दमौलीबाट स्याम्घा हुँदै थप्रेक जोडिने मार्गलाई सिन्धु मार्ग नामकरण गरिएको थियो । पछिल्लो समयमा दमौलीबाट थप्रेक हुँदै कोत्रेसम्म यो मार्ग जोडिने भएकाले यसलाई दमौलीबाट पोखराका लागि वैकल्पिक मार्गका रुपमा प्रयोग गरिँदै आइएको छ ।रासस