काठमाडौँ । दिनदहाडै खुँडाले मान्छे काटेपछि जन्मकैदको सजाय पाएका रिगल भनिने गुन्डा नाइके योगराज ढकाललाई दिइएको आममाफी निर्णयविरुद्ध पत्नी भारती शेर्पा मानन्धरले दायर गरेको रिटउपर आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।
उक्त मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीसहितको पूर्ण इजलास तोकिएको छ ।
चेतनकी पत्नी भारतीको रिटमाथि प्रारम्भिक सुनुवाइको क्रममा असोज १८ गते न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको थियो ।
पूर्ण इजलासमा प्रवेश गरेको मुद्दाको सुनुवाइ निरन्तर हुने व्यवस्था छ ।
नेपालगन्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका गुन्डा नाइके रिगलको १२ वर्ष सजाय माफ गर्ने निर्णय खारेज हुनुपर्ने र अदालतद्वारा दोषी ठहरिएका रिगललाई बाँकी कैद भुक्तानीका लागि पुनः जेलमै राखिनुपर्ने माग गर्दै पत्नी भारतीले रिट दायर गरेकी थिइन् ।