७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गली हात्ती उखु बालीमा पसेपछि…



अ+ अ-

कञ्चनपुर । बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित हुनुहुन्छ । कृषि विकास बैंकबाट रु १० लाख ऋण निकालेर उहाँले उखुखेती गर्नुभएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले रानाको डेढ बिघा जग्गामा गरिएको उखुखेतीमध्ये आधा बिघाको उखु पूरै कुल्चेर तथा खाएर नोक्सानी गरेको छ । “दुई सय क्विन्टल उखु हात्तीले गए रातिमात्रै खाएर नोक्सानी पुर्याएको छ”, उहाँले भन्नुभयो, “हात्तीका कारण रु डेढ लाख घाटा व्यहोर्नुपरेको छ ।”

छिमेकीले फोन गरेर रातिका बेला उखु बारीमा हात्तीको बथान पसेको जानकारी दिएपछि आगोको राँको बालेर तर्साएर मुस्किलले भगाउन सकिएको उहाँले बताउनुभयो । घर नजिकै उखुबारी भएकाले तीनवटा छावासहित १० बढीको सङ्ख्यामा रहेको हात्तीको बथान तीन दिनदेखि लगातार आउन थालेकाले ज्यान जोगाउनकै पिरलो रहेको नन्दरानी रानाले बताउनुभयो ।

“हात्ती नियन्त्रणका लागि नगरपालिकाले सडक छेउमा जडान गरेका बत्ती एक महिना नपुग्दै बिग्रए, उज्यालो भएपछि हात्ती तर्सेर भाग्छन्, अँध्यारो हुँदा हात्ती उखुबारीमा पसे”, उहाँले भन्नुभयो, “हात्ती उखुबारीमा पसेर नोक्सानी पुर्याएपछि मात्रै वडा कार्यालयले पुन: बत्ती जडान गरेको छ ।”

रानाको जस्तै स्थानीय किसान तप्त ठकुल्लाको तीन कठ्ठामा काट्न बाँकी रहेको हरियो धान र काटेको दुई कठ्ठाको धान पूरै हात्तीको बथानले खाएर नोक्सानी गरेको छ । वडा नं ७ सिमलफाँटाका गङ्गादत्त भट्टको पाँच कठ्ठाको काट्ने तयारी अवस्थामा रहेको धानबाली हात्तीको बथानले पूरै सखाप पारेको छ ।

“सात कठ्ठा जग्गामात्रै स्वामित्वको हो”, उहाँँले भन्नुभयो, “पाँच कठ्ठाको धानबाली हात्तीले सखाप पार्यो, जग्गामा लगाएको धानले छ महिना खानका लागि पुग्दथ्यो, अब वर्षभरिकै लागि धान खरिद गर्ने अवस्थामा पुर्यायो ।”

भट्ट परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । हात्ती भगाउनका लागि नगरपालिका, वडा कार्यालयमा पटाखा, टर्चको व्यवस्था गरिदिन भने पनि बेवास्ता गरिएको उहाँले बताउनुभयो । निकुञ्ज छेउकै बस्ती भएकाले हात्तीलगायतका जङगली जनावरबाट निकै पीडित रहेको उहाँले उल्लेख गर्नुभयो । वडा नं ६ का वडाध्यक्ष दानसिंह ऐरले किसानको बालीनाली जङ्गली हात्तीको बथानबाट जोगाउनका लागि संवेदनशील क्षेत्रमा विद्युतीय स्वचालित बत्ती जडान गर्नमा जुटेको बताउनुभयो । “हात्तीको बथानले क्षति पुर्याएका क्षेत्रमा प्रहरीसहित पुगेर अनुगमन गरी क्षतिपूर्तिका लागि सर्जिमिन मुचुल्का तयार गरेका छौँ”, उहाँले भन्नुभयो, “राहत र क्षतिपूर्तिका लागि निकुञ्ज कार्यालय गुहारेका छौँ, ऐलानी जग्गाको हकमा वडा र नगरपालिकाबाट सक्दो राहत उपलब्ध गराउँछौँ ।” रासस