१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

क्यानडाको टोरन्टोमा नेपथ्य यात्राको भब्य समापन -फोटो फिचर

क्यानडाको टोरन्टोमा नेपथ्य यात्राको भब्य समापन -फोटो फिचर
अ अ+ अ-

टोरन्टो। ऐतिहासिक स्मारकका रुपमा श्रद्धा गरिने भब्य सभागृह ‘मेस्सी हल’मा गर्विलो उपस्थिती जनाउँदै नेपथ्यले क्यानाडाको श्रृंखलावद्ध यात्रा टुङ्ग्याएको छ ।

पहिलोपटक क्यानाडामा पाइला टेकेको ब्याण्डले सुरुमा क्यालगरी त्यसपछि भ्यानकुभर हुदै अन्त्यमा टोरन्टोमा प्रस्तुत भइरहँदा त्यो क्षण स्थानीय नेपाली समुदायका लागि मानक बन्दै थियो ।

‘यति महत्वपूर्ण हलमा उस्तै महत्वपूर्ण तवरले नेपथ्य प्रस्तुत भइदियो,’ टोरन्टोका मिङमा नोर्गे शेर्पा भनिरहेका थिए, ‘दर्शकका रुपमा उपस्थित हुँदा पनि त्यो एउटा नेपालीले गर्व गर्ने क्षण बनिदियो ।’

मिङमाका अनुसार प्रस्तुतीदेखि लिएर सहभागीतासम्मका हिसाबले यस्तो भब्य अनुभूति यसअघि भएको थिएन ।

कन्सर्ट सकिएपछि नेपथ्य र ब्याण्डका मुख्य गायक अमृत गुरुङको फेसबुक पोस्टमा आएका प्रतिक्रियाहरुले पनि मिङमाका भनाइलाई थप पुष्टि गरिरहेका छन् । दर्शक हुनुको अनुभूति प्रकट गर्दै प्रतिक्रिया जनाउनेहरुले टोरन्टो शोलाई ‘जीवनकै महत्वपूर्ण अनुभव’ भनेर उल्लेख गरेका छन् ।

कन्सर्टका लागि एक घन्टा अगावै हलको ढोका खुल्नासाथ दर्शकहरुको उपस्थिती सुरु भइसकेको थियो । स्थानीय समय अनुसार बेलुकीको ठीक सात बजे पहिलो प्रस्तुतीका रुपमा ‘सा कर्णाली’ म्यूजिक भिडियो बज्नासाथ तीनतल्ले हलको टनाटन दर्शक घेराले उत्तेजना र उत्साहको आवाज गुञ्जाएका थिए । त्यसपछि कन्सर्ट अवधिभर त्यो न्यानोपना जारी रह्यो ।

मञ्चमा ब्याण्डको उपस्थितीपछि भने ‘कोशीको पानी यो जिन्दगानी’बाट साँझको सुरुवात गरिएको थियो । त्यसपछि लगातार नयाँ र पुराना गीतहरु एकपछि अर्को प्रस्तुत हुँदै गए ।

दर्शकदीर्घामा एउटा परिचित क्यानेडेली अनुहार पनि देखिन्थ्यो । उनी थिए लामो समय नेपालमा बसेर पत्रकारिता गरेका ड्यानियल ल्याक । ‘नेपालले समेटेको गजबको धर्ती, संस्कृति र त्यहाँका मानिसहरुका बारेमा बोल्ने उत्साहवर्धक संगीतको अनुभूति भयो,’ ड्यानियल भन्दै थिए, ‘अमृत र उनको टोलीले आफ्नो प्रतिभा र हुटहुटीलाई यति गहनताका साथ प्रस्तुत गरे कि यो बेलुकी म एउटा मगनमस्त नेपालीजस्तै झुम्न पुगेँ ।’

आफ्नो सँधैको स्वभावजस्तै ब्याण्डका मुख्य गायक एवं अगुवा अमृतले पनि कन्सर्ट अवधिभर दर्शकहरुसँग गीतको साथसाथै संवादलाई जारी राखे । ‘नेपालीहरु जतासुकै फैलिए पनि हामी सबैको साझा घर नेपालै हो,’ अमृतको भनाइ थियो, ‘तपाईंहरुले यहाँ सिकेको सीप र आर्जन गरेको धन जोडेर स्वदेशको निर्माण गर्नुपर्छ ।’

उनले विदेशमा बसेका बेला नेपालीहरु एकजुट हुनुपर्ने आवश्यकता पनि औंल्याए । यतिबेला मुलुकभित्र विभाजन ल्याउन खोज्नेहरु विरुद्ध पनि अमृतले खबरदारी गरे ।

‘हामी बीच जात, धर्म र वर्गजस्ता कुराहरु अघि सारेर जो जसले विभाजन ल्याउन खोजे पनि त्यसको जवाफ हामीले एकजुट भएर दिनुपर्छ,’ उनले थपे, ‘त्यस्ता विभाजनकारीलाई हामीले उल्टो मानवता र भाइचाराको प्रवद्र्धन गरेर देखाइदिउँ ।’

अमृतका यी भनाइहरुलाई टोरन्टोका दर्शकहरुले चर्को तालीका साथ अनुमोदित गरिदिएका थिए ।

टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्नका लागि छिमेकी मुलुक अमेरिकाबाट पनि उल्लेख्य संख्यामा दर्शक जम्मा भएका थिए । त्यसमा पनि विशेषगरि विजय दुलाल, विकल पाख्रिन र महेन्द्र पौडेलजस्ता दर्शकहरु टेक्सासदेखि झण्डै १५ सय माइल टाढाको यात्रागरेर आइपुगेका थिए । त्यसका निम्ति उनीहरुले तीन घन्टाको हवाइ र पाँच घन्टाको सडक यात्रा गर्नुपरेको थियो ।

त्यसैगरि युरोपबाट क्यानाडा घुम्नका लागि आएका आशिष पुर्जा मगरको निम्ति ठीक यतिबेलै टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्न पाउनुले अर्को रमाइलो थपिन पुग्यो ।

कन्सर्टमा ‘यो जिन्दगानी’ गीत प्रस्तुत गरिरहँदा गायक अमृतले पछिल्लो समय नेपथ्य ब्याण्ड मानव सेवा आश्रमसँग मिलेर मानवताको सेवामा समर्पित भइरहेको जानकारी पनि गराएका थिए ।
यसरी निर्वाह गर्दै आएको सामाजिक दायित्वलाई सन्देशका रुपमा सुनाउँदा सुनाउँदै पनि दर्शकका बीच सर्वकालीक हिट गीतहरु ब्याण्डले प्रस्तुत गरेको थियो ।

‘यो कन्सर्ट रोमाञ्चकता र विगतको सम्झना मिसाइएको एउटा मिठो पोको जस्तो लाग्यो,’ यहाँस्थित जर्जब्राउन कलेजमा अध्ययनरत एन्नी सिंह भनिरहेकी थिइन्, ‘चाडबाडको मुखमा घरको यादले छटपटाइरहेका नेपालीहरुमाझ नेपथ्यले एउटा सानोतिनो नेपालै बोकेर ल्याइदिएको महशुस गरेँ ।’
ब्याण्डको जोशिलो प्रस्तुतीले सम्पूर्ण दर्शकलाई उफ्रिएर नाच्न बाध्य बनाइदिएको अनुभव पनि उनले सुनाइन् ।

नेपथ्यले तीब्र दर्शक उत्तेजनाकै बीच ‘रातो र चन्द्रसूर्जे’ गीतबाट आफ्नो प्रस्तुती अन्त्य गरेको थियो ।

कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

‘नेपथ्य अनुभव गर्न चाहने क्यानाडाका नेपालीहरुको ओजपूर्ण उपस्थिती देख्न पाइयो,’ आयोजक टिमका दिपेन्द्रजंग केसीले समापनपछि भने, ‘यो कन्सर्टबाट क्यानाडामा नेपाली संगीतको एउटा इतिहास रचिएको महशुस हुदैछ ।’

टोरन्टो प्रस्तुतीसँगै क्यानाडाको श्रृंखलावद्ध यात्रा समाप्त भएपछि अब १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ तारिखका दिन स्वदेश फर्कँदैछ ।