६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

इजरायल घटना: आनन्दको मृत्युको शोकमा सिङ्गो गाउँ

इजरायल घटना: आनन्दको मृत्युको शोकमा सिङ्गो गाउँ
अ+ अ-

धनुषा । “म जीवनमा एक करोड वृक्षरोपण गर्ने सङ्कल्प गर्छु, गाउँमा ब्रह्मदेव आरबीएसएस आनन्द अक्सिजन प्रोडक्सन नाममा अक्सिजन उद्योग खोल्छु । एउटा सुविधा सम्पन्न अस्पताल बनाउँछु जस्मा कसैलाई विभेद हुनेछैन”, गत भदौमा इजरायल जानुअघि धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस हो यो । मनभरी गाउँको विकासको ठूलो सपना बोकेर इजरायल पुग्नुभएका उहाँको यो सपना अब कहिल्यै पूरा हुने छैन ।

‘टु लर्न टु वर्क’ भिसा अन्तर्गत कृषि तालिमका लागि इजरायल जानु भएका उहाँले इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी ज्यान गुमाउनुभयो । इजरायलमा मारिएका दश नेपालीमध्येका एक धनुषा सपहीका साहको मृत्युसँगै तीन बहिनी, बुबाआमा र हजुरआमासँगै सिङ्गो गाउँ यतिबेला गहिरो शोकमा डुबेको छ ।

पुत्रवियोगमा आनन्द साहका पिता सोमन साहको आँशु रोकिएको छैन भने आमा शुभकली साहको बोली बन्द भएको छ । लहलाउँदो लक्का जवान छोराको मृत्युको खबर सुनेसँगै बुवा सोमन र आमा शुभकलीलाई गहिरो शोकमा डुबाएको छ । ७० वर्षीया हजुरआमा बसमतियादेवी, जेठी बहिनी सुनिता, माहिली बहिनी सरस्वती र कान्छी बहिनी आरती साह पनि पीडामा हुनुहुन्छ । कान्छी बहिनी आरतीलाई स्लाइन पानीसहित राखिएको छ ।

गाउँलेहरुले उनीहरुलाई सम्झाउँदै चित्त बुझाउने प्रयास गरेपछि होसमा आउने परिवारका सदस्यमा रुवाबासी रोकिएको छैन । गाउँका सबैजसोको आँखा रसाएको छ । बुबा सोमन होसमा आउने वित्तिकै छाती ठोक्दै विलाप गर्नुहुन्छ ।

इजरायल जानुअघि हजुरआमा बसमतियाले घर बनाऊ, बिहे गर भनेर आनन्दलाई भन्नुभएको थियो । “म पढाइ सकेर फर्किएपछि ठूलो घर बनाउँछु, अनि बिहे गरेर बुहारी भित्राउँछु । तबसम्म बाँचिरहनु दादी भनेर आश्वासन दिएका थिए,” हजुरआमा–नातिबीचको संवाद सुनेका काका मिथिलेशले भन्नुभयो ।

कक्षा ५ सम्म लक्ष्मीनिया गाउँपालिकास्थित स्थानीय अक्सफोर्ड अङ्ग्रेजी स्कुलमा पढेका आनन्द कक्षामा सधैँ प्रथम हुन्थे । जनकपुरधामको एन्जल्स स्कुलबाट एसएलसी र मिट क्याम्पसबाट प्लस टु गरेका उनले पूर्णछात्रवृत्तिमा बिएससीएजी पढेका थिए । बिएससीएजीको पढाइपछि आनन्द पाँच महिनाका लागि इन्टर्नसिपमा डडेलधुरा गएका थिए । त्यहाँबाट उनले इजरायल जाने निधो भयो ।

घरबाट बिदा हुँदै गर्दा आनन्दले आमालाई कृषि तालिम सकेर चाँडै घर फर्किने बचन दिएका थिए । अन्तिम पटक एक साताअघि आमासँग कुरा गर्दा पनि उहाँले उही कुरा दोहोर्‍याउँदै भनेका थिए, “पीर नगर्नु आमा, म चाँडै आउँछु ।”

लक्ष्मीनिया गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार साहका अनुसार दुई दिनअघि शुक्रबार आनन्दसँग उहाँका बहिनीहरूले फोनमा कुराकानी गरेका थिए । तर त्यो दिन आनन्दको आमाबुवासँग कुरा हुन पाएन । साहले भन्नुभयो, “शनिबार आमाबुवासँग कुरा गर्छु भनेका आनन्दसँग कुरा गर्न आमाबुबाले शनिबारदेखि नै फोन गरे पनि घण्टी बजेको छ तर आइतबारसम्म पनि फोन उठेन ।”

शनिबार इजरायलमाथि हमासको हमलाको खबर आयो । लगत्तै केही नेपाली घाइते पनि भएको समाचार बाहिरिएपछि परिवारमा छटपटि बढ्यो । इजरायलमा हमला भएको दिन शनिबार नै आनन्दका दिदीले फोन गर्नुभएको थियो । तर, फोनको घण्टी बजे पनि उठेन । पटक–पटक प्रयास गर्दा पनि फोन नउठेपछि मनमा चिसो पस्यो । छटपटी झनै बढ्यो । आइतबार पनि उहाँको फोनमा घण्टी जाने तर फोन उठेन । आइतबार साँझ १० जना नेपाली विद्यार्थीमा आनन्दको पनि मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गर्नुभयो ।

आइतबार बेलुका परराष्ट्र मन्त्रालयले इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको पछिल्लो लडाइँमा मारिएका नेपालीको नाम सार्वजनिक गर्दा आनन्दको नाम सातौँ नम्बरमा थियो । मृतकको सूची हेर्ने वित्तिकै परिवारमा रुवाबासी चल्यो । बुवाआमासँगै सारा परिवार अझै अर्धचेत अवस्थामा हुनुहुन्छ ।

आनन्दको मृत्युको खबरले उहाँको परिवारसँगै सिङ्गो गाउँ शोकमा डुबेको छ । “कमाउने बेलाको छोरा बित्यो, यहाँभन्दा बढी पीडा के हुन्छ ?”, बुवा सोमन साहले भन्नुभयो, “अब राज्यले छिटोभन्दा छिटो शव ल्याइदिओस भन्ने भन्ने कामना छ ।” रासस