• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै ★   संकटमा सञ्जुः हैदरावादविरुद्ध राजस्थानको टोली समस्यामा पर्न सक्ने ★   प्रतिपक्षीको अवरोधकैबीच प्रतिनिधि सभाबाट आज नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी ★   आईपीएल आजः फाइनल पुग्न राजस्थान र हैदरावादबीच भिडन्त ★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा



मलेखु । गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् ।

विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरोमा पर्‍यो । जमिन चिरा पर्‍यो । घर र वस्तुभाउ बाँध्ने गोठहरु पनि भत्किए । एक्काइस परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापितहरु बाह्रबीसेमा बस्दै आएका थिए । चार वर्षसम्म सरकारको निर्णय पर्खेर बसेका विस्थापितहरु त्रिपालमा बालबच्चा र वृद्धवृद्धाको बिचल्ली सहन नसकेर ‘मरे घरैमा मर्छौं’ भन्दै भत्किएकै बस्ती नै फर्किन थालेका छन् ।

हर्कबहादुर तामाङ, मानबहादुर तामाङ, राजन तामाङ परिवारसहित पुरानै घर फर्किएका छन् । उनीहरु भन्छन्, “त्रिपालभित्र बालबच्चा र वृद्धवृद्धा जोगाउन साह्रै कठिन भयो, बजारमा कोठा लिएर बस्न सक्ने अवस्था पनि रहेन । मरे पनि बरु घरमै मरौँ भनेर फर्कियौँ ।” बाहिर हिँड्डुल गरेर कमाउन सक्ने जहान भएका १२ परिवारले गजुरी र बिहानी पम्प आसपासमा कोठा भाडामा लिएर बस्न थालेका छन् ।

बिहान कमाएर बेलुकाको छाक टार्नुपर्ने बाध्यतामा रहेका विस्थापित परिवारले कोठा भाडामा लिए पनि सजिलैसँग भाडा तिर्न सक्ने अवस्थामा छैनन् । कोठा भाडा तिर्ने आँट गर्न नसकेका र पुरानै घर भत्किएका छ घर अझै त्यही छ । “घर नभत्किएकाहरु जोखिमपूर्ण बस्ती नै फर्किए र कमाउन सक्नेहरु कोठा भाडामा बस्न गए”, अहिले पनि त्रिपालमै बस्दै आउनुभएकी ६६ वर्षीय सेतीमाया तामाङ भन्नुहुन्छ, “मेरो कोही छैन म कहाँ जाउँ ।”

तेल, चामल खाएको उधारो तिर्न नसक्दा सेतिमायालाई पीडा थपिएको छ । “छोराछेरीको जन्म भएन । पाँच वर्षअघि श्रीमान् बित्नुभयो । भएको घरजग्गा पहिरोले लग्यो । यो त्रिपालमुनि अब कति बाँचुला र”, सेतीमायाले सुनाउनुभयो ।

चार वर्षदेखि टेन्टमा रातदिन बिताइरहेका विस्थापित परिवारलाई सरकारले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न नसक्दा उनीहरुमा निराशा बढेको हो । सुरक्षित स्थानमा बस्ती स्थानान्तरणका लागि हारगुहार गर्दै यहाँका विस्थापितले यसअघि वडा, गाउँपालिकादेखि जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालयमा पटक–पटक ज्ञापनपत्र बुझाइसकेका थिए ।

यो बस्तीको पीडा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरुले पनि पटक पटक प्रत्यक्ष देखेका छन् । तर, स्थायी प्रबन्ध मिलाउन सकेका छैनन् । आशैआशमा गुजारा गरिरहेका छन् । अस्थायी बस्तीमा बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन । बस्ने र खानेको ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् । टेन्ट र जस्तापाताबाट छिरेको पानीले ओछ्यान भिजाउँछ भने विस्थापित भएसँगै खाद्यान्न अभाव पनि भोगिरहेका छन् । भएका जग्गाजमिनमा पनि फर्केर खेती गर्न जान नसकेपछि विस्थापितहरुमा खाद्यान्नको अभाव खड्किएको हो । रासस