२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा विद्यार्थीले ज्यान गुमाउँदा सुदूरपश्चिम विश्वविद्यालय शोकमा



अ+ अ-

भजनी । “अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरु शनिबारदेखि बङ्करमा लुकेर ज्यान जोगाउन बाध्य छौँ । यहाँ सोचेजस्तो सहज केही पनि छैन । कति बेला आकासमा कालो धुँवाको मुस्लो उठ्छ थाहै हुँदैन । निकै नै त्रसित माहोल छ मिसाइल कति बेला कताबाट आयो पत्तो पाइदैन”, इजारयलमा रहनुभएका कैलालीको टीकापुरका निश्चल पाण्डेले पठाउनुभएको म्यासेज हो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’मार्फत इजरायल पुग्नुभएका पाण्डेका अनुसार अगाडि भन्नुभएको छ, “साइरनको त्यो ठूलो आवाजले सातो जान्छ । आकाशमा हेलिकोप्टर र फाइटर जेट निरन्तर उडिरहेका छन् । बङ्करमा पनि सोचें जस्तै सहज केही छैन् । न खाना न पानी अनि त्यो चिसो भूइँमा त्रासैत्रासमा बिताउनुको पीडाले नर्कमा भएको अनुभूति भएको छ । आजको रात निकै लामो हुने छ । पर्खाइ त्यो भोलि शुभ बिहानीको हुनेछ ।”

उहाँले सन्देश पठाएको केही समयपछि उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको समाचार आयो । सो घटनापछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा परेको छ । “घटनाले विद्यार्थी हतोत्साहित बनेका छन् । शिक्षक भावविह्वल बन्नुभएको छ । क्याम्पसका सबै पठनपाठन बन्द भएका छन् । आन्तरिक परीक्षा स्थगित भएको छ”, क्याम्पसका उपप्राध्यापक प्रेम पाण्डेले भन्नुभयो, “हामीसँग बोल्ने शब्द बाँकी छैनन् । घटनाले हामीलाई विवश बनाएको छ ।” उक्त घटनाले विद्यार्थीको मनोबल कमजोर बन्ने स्थिति देखिएको उहाँले बताउनुभयो ।

विश्वविद्यालयका उपप्राध्यापक सरोज घिमिरेले विद्यार्थीको मृत्युले राज्यले ठूलो जनशक्ति गुमाएको बताउनुभयो । उपप्राध्यापक घिमिरे भन्नुहुन्छ, “आज दु:खद् घटना घट्यो । यस्तो अवस्थामा हामीसँग कुनै उत्तर छैन ।”

उपप्राध्यापक गुरु अधिकारीले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका अन्य विद्यार्थी पनि जोखिममा रहेको बताउनुभयो । उहाँले जतिसक्दो चाँडो राज्यले घाइतेको उपचारमा र अन्यलाई नेपाल फर्कने वातावरण बनाउन आग्रह गर्नुभयो । “राज्यको भूमिका औपचारिकता मात्रै देखिएको छ । हाम्रा अन्य विद्यार्थी पनि जोखिममा छन् । उहाँहरुको समयमै उद्धार होस्”, उहाँले भन्नुभयो, “आज विद्यार्थीका अभिभावक भावविह्वल अवस्थामा छन् । सिङ्गो क्याम्पस शोकमा छ । म आग्रह गर्छु, राज्य जिम्मेवार बनोस् ।”

कृषि विज्ञान सङ्कायको दोस्रो वर्षमा अध्ययनरत सुन्दर विश्वकर्मा थापाले उहाँहरुको निधनले आशाको दियो निभेको बताउनुभयो । पहिलो ब्याचका विद्यार्थी इजरायल जाँदा आफूले बोकेका सपनामा पूर्णविराम लागेको उहाँको भनाइ छ । “हामीभन्दा अघिल्लो ब्याचका विद्यार्थीहरु थप सिकाइका लागि इजरायल जानुभएपछि आफूहरु पनि जानुपर्छ भन्ने लागेको थियो । अहिलेको घटनाले त्यो सपनामा पूर्णविराम लागेको छ ।” उहाँले त्रासमा रहेका सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारले चाँडो पहल गर्नुपर्ने बताउनुभयो ।

विश्वविद्यालयबाट भदौ २६ गते इजरायल पुग्नुभएका निश्चल पाण्डेका बुबा उत्तम पाण्डेले आफ्नो छोरासहित सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले छोरासँग सम्पर्क भइरहेको बताउँदै त्यहाँ रहेका विद्यार्थी निकै असुरक्षित भएको बताउनुभयो । “बाहिरको वातावरण निकै असुरक्षित छ भनेर छोरासँग सम्पर्क भइरहेको छ । उहाँहरु अझैपनि बङ्करमा बसेर जीवन जोगाइराख्नु भएको छ ।” पाण्डेले भन्नुभयो, “उहाँहरुको कुराले सबै विद्यार्थी नेपाल फर्किन चाहन्छन । हामी अभिभावक पनि आफ्ना सन्तान फर्केको हेर्न चाहान्छौँ । सरकारले हाम्रा सन्तान नेपाल फर्कने वातावरण बनाओस ।”

विश्वविद्यालयको कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिष्टारका ४९ जना विद्यार्थीमध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना विद्यार्थी इजरायल गएका थिए । उनीहरुमध्ये १० जना छात्रा छन् । उनीहरु १० महिनाका लागि इजरायल गएका थिए । विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको एक दिन अध्ययन, पाँच दिन काम र एक दिन छुट्टीमा बस्ने उल्लेख थियो । कृषि विज्ञान सङ्कायले कार्यक्रम अन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको हो । रासस