काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे सदनलाई जानकारी गराएका छन् ।
आईतबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री साउदले इजरायलमा चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेकोमा दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी गराए ।
जसमा कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना, सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएको उनले बताए।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलमा अध्ययनरत थिए। जुन आक्रमण भएको गाजा क्षेत्रनजिकै पर्दछ । यहाँ रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल छन् भने तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार जारी रहेको मन्त्री साउदले बताए ।
मन्त्री साउदको अनुसार बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।
शनिबार इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले आक्रमण गरेको थियो ।