१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै मुस्किल



file photo
अ+ अ-

कञ्चनपुर । बेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ । आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उहाँलाई जीविका चलाउन गाह्रो भएको हो ।

आरनबाट जीविका चलाउन गाह्रो भएपछि धेरै जना पेसा पलायन भई मजदुरीका लागि भारततर्फ जान थालेका छन् । युवाहरूले आरन पेसालाई अँगाल्न छाडेका छन् । बाबुबाजेदेखि आरन चलाउँदै आए पनि थोरै आम्दानी हुने हुँदा युवाले अरु पेसा रोजेका हुन् ।

“पहिला मठमन्दिरमा स्थानीय कारिगरले आरन चलाएर बनाउने बाघ, हात्ती, गाई, सर्प, दियो, छडी, पञ्चदीप, भोकर चढाउने चलन निकै थियो”, उहाँले भन्नुभयो, “ती सबै स्थानीय आरन चलाउनेले बनाउने गर्दथे, हाल बजारमै सबै सामान किन्न पाइन्छ, हातले बनाउँदा टिकाउ भए पनि महँगो हुन्छ, बजारमा सस्तो छ ।”

मठमन्दिरमा चढाउने देवी–देवताका धातुका मूर्तिको माग पनि आउन छाडेको उहाँले बताउनुभयो । घरायसी प्रयोग हुने चरु, फोला, हुडु, माना, पाथीको प्रचल हटेसँगै पुख्र्यौली पेसा नै ओझेलमा परेको उहाँको भनाइ छ । “हाल हँसिया बनाउने र त्यसमा धार लगाउने कार्यबाहेक अरु काम नआउँदा परिवारको खर्च धान्न मुस्किल भएको छ”, उहाँले भन्नुभयो, “पहिला कमाइ हुन्थ्यो, त्यही भएर एक कठ्ठा जग्गा खरिद गरी तीन छोराको विवाह गर्न भ्याएँ, अहिलेको जस्तो भए भोकभोकै बस्नु पर्दथ्यो ।”

पैसठ्ठी वर्षीय ताम्राकारले आरन पेसालाई निरन्तरता दिँदै आए पनि उहाँका तीनवटै छोरा भने कमाइका लागि भारतमा काम गर्दै आएका छन् । आरनबाट मासिक रु तीनदेखि पाँच हजारसम्ममात्रै आम्दानी हुने गरको उहाँ सुनाउनुहुन्छ । “धान, गहुँ काट्ने सिजनमा केही कमाइ हुन्छ”, उहाँले भन्नुभयो, “बाँकी समय थोरैमै चित्त बुझाउनुपर्ने हुन्छ, पुर्खौँदेखिको पेसा भएकाले छाड्न पनि सकिएको छैन ।”

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा आरनको काम गर्दै आउनुभएका लक्षी लुहारलाई पनि परिवार पाल्नकै चिन्ता छ । “परम्परात पेसालाई आधुनिक बनाउन नसक्दा भोकभोकै बस्नुपर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो, “आरनलाई आधुनिक बनाउन सरकारी पक्षबाट अनुदानको व्यवस्था गरिनु पर्दछ ।”

बाबुबाजेदेखि सिकेको पेसा नै यही भएकाले अरु काम गर्न नआउँदा अन्योता छाएको उहाँले बताउनुभयो । “आरनको काम गर्नेको कमाइ छैन, समाजमा मानप्रतिष्ठा पनि छैन”, उहाँले भन्नुभयो, “त्यही भएर घरका छोरा भारतमा काम गर्न बाध्य छन् ।”

भारतीय पहाडमा विद्युत्का पोल बोक्ने, सडक खन्ने, विद्युत् पावर हाउसको सुरुङ निर्माण गर्ने र पानीको बाँध बनाउने कार्यमा दलित समुदायका युवाहरू संलग्न छन् । अर्काको जमिनमा खोकाछाप्रा बनाएर आरन चलाउँदै आएका पदम कामी परम्परागत पेसालाई निरन्तरता दिँदै आउनुभएको छ ।

“हातमा सीप भनेको त्यही परम्परागत आरन चलाउनुमात्रै हो”, उहाँले भन्नुभयो, “यसबाट आएको रकम र अन्नले सात जनाको परिवारको पेट पाल्न मुस्किलले पुगेको छ”, रातदिन फलाम थिच्दा पनि मुस्किलले दुई छाक खान नपुग्ने गरेको उहाँको दु:खेसो छ ।

“पेसालाई आधुनिकीकरण गरी सहजरूपमा जीवनयापन गर्नका लागि स्थानीय तहले योजना बनाउनुपर्ने हुन्छ”, दलित अगुवा शिवी लुहारले भन्नुभयो, “अहिलेसम्म आरन चलाएर जीविका चलाउने दलित समुदायका व्यक्तिका लागि योजना बनाइएका छैनन्, पेसालाई आधुनिकीकरण गरी बिनाधितो समूह जमानीका आधारमा ऋणको व्यवस्था गरिनुपर्छ, त्यो पनि हुनसकेको छैन ।” आरन चलाउने दलित समुदायसँग भएको परम्परागत सीप पुरानो भइसकेकाले युवालाई परम्परागत सीपमा परिमार्जन गरी संलग्न गराइनुपर्ने उहाँको भनाइ छ । रासस