६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.42

Wind: 2.06

Humidity: 64

Latest
वर्षा बाधक बन्दा खेल रद्दः अफगानिस्तान विश्वकपमा छनोट, नेपाल बाहिरियो ‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ’ काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैनः गृहमन्त्री चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता: ‘शेइयान२७’ उपग्रह प्रक्षेपण वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह बुटवलमा एक युवतीमाथि गोली प्रहार छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक रामकुमारी झाँक्रीको आक्रोस– ‘अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो’ राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा हुँदै शिक्षक मागबारे सरकारलाई दबाब दिन कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले गरायो सभापति देउवाको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपील



अ+ अ-

काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कुनैपनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई नेपालको पहिचान र प्रगतिको आधारशिलाका रूपमा रहेको जातीय, धार्मिक एवं सामाजिक सद्भावलाई जोगाउन हामी फेरि एकपटक एकताबद्ध बन्नु परेको बताउनु भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक एकता र सद्भावका सम्बन्धमा आज सार्वजनिक गर्नु भएको सन्देशमा भन्नुभएको छ, ”हामी एउटा यस्तो राष्ट्र निर्माणका लागि कटिबद्ध छौँ, जहाँ प्रत्येक नागरिकले आफूलाई सम्मानित र समग्रताको अभिन्न अङ्गको रूपमा स्वीकार गरिएको महसुस गरुन् । सुदृढ राष्ट्रिय भावना र सद्भावप्रतिको हाम्रो प्रतिबद्धताले नै हामीलाई निरन्तर अगाडि बढ्न मार्गनिर्देशन गर्नेछ भन्ने विश्वाससहित सबैमा सामाजिक एकता, जागरण र पहरेदारीका लागि हार्दिक अपील गर्दछु ।”

उहाँले भन्नुभएको छ, “नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुनेगरी देशका कतिपय स्थानहरूमा भइरहेका क्रियाकलापहरूका सन्दर्भमा म सबैमा जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयम अपनाउन हार्दिक अनुरोध गर्दछु ।”

समाजमा शान्ति खल्बलिने तथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्नेगरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झूटा समाचारको समेत उपयोग भैरहेकोतर्फ समेत म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु भन्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली समाजको धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई हामीले देशको सौन्दर्य र सम्पदाका रूपमा आत्मसात गर्दै आएको स्मरण गर्नु भएको छ ।

“यही विविधता बिचको एकता, आपसी सद्भाव एवं सहिष्णुता नै हाम्रो राष्ट्रिय शक्ति हो । हाम्रो संविधानले पनि “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भनी नेपाल राष्ट्रलाई परिभाषित गरेको छ,” उहाँले भन्नु भएको छ ।

सन्देशमा उहाँले भन्नु भएको छ, संविधानले सबै नेपाली जनतालाई सम्मान र समानताको अधिकार प्रदान गरेको हामी सबैमा विदितै छ । सबै नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्पराको निर्वाध पालनाका लागि हाम्रो संविधान, कानुन र राजनीतिक संरचनाले पर्याप्त स्थान दिएका छन् ।

“हाम्रो मुलुकमा कसैले पनि आफूलाई कुनै खास भौगोलिक, जातीय, भाषिक वा सांस्कृतिक पृष्ठभूमिका कारण उच्चताबोध वा हीनताबोध गर्नुपर्ने अवस्था छैन, इतिहासको अवशेषका रूपमा समाजमा अझसम्म कायम रहेका कतिपय कुरीति, तुस र असन्तोषलाई आपसी संवाद, अन्तरक्रिया र कानुनी उपचारका माध्यमबाट मेटाउँदै हामीले आपसी विश्वास र सहिष्णुताको वातावरणलाई नयाँ उचाईमा पुर्‍याउनु पर्दछ,” सन्देशमा उहाँले भन्नु भएको छ ।

एकअर्काको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई सम्मान गर्ने ऐतिहासिक कालदेखिको हाम्रो असल परम्परालाई थप सुदृढ तुल्याउनु पर्दछ । जातीय र धार्मिक सद्भाव कायम राखेर मात्र समाजमा सबै नागरिकको सुरक्षा एवं सम्मानको प्रत्याभूति दिन सकिन्छ । हामीलाई हाम्रै देशको माटोमा विकास भएका जनक, बुद्ध, वैदिक, शैव तथा प्रकृतिपूजक सभ्यताहरूले यही शिक्षा दिंदै आएका छन् । आजको घडीमा हामी सबैले हाम्रो सभ्यताका मार्गदर्शनलाई गहिरो गरी आत्मसात गर्नसक्नुपरेको छ, सन्देशमा भनिएको छ ।