१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जैविक र प्राङ्गारिक खेती गर्न सिकाउँदै नाटक



अ+ अ-

तनहुँ । कृषिमा विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने विषयमा शिल्पीकला समूह काठमाडौँले तनहुँमा ‘सट्टापट्टा’नामक नाटक प्रदर्शन गरेको छ । व्यास नगरपालिका–११ फराकचौरमा बिहीबार साँझ देखाइएको नाटकमा जैविक खेती गरी स्वस्थ शरीर बनाउन सन्देश प्रवाह गरिएको निर्देशक घिमिरे युवराजले बताउनुभयो । खाद्यका लागि कृषि अभियानको सहकार्यमा नाटकलाई असोज १४ देखि २७ गतेसम्म प्रदर्शन गरिने छ ।

धेरै फलाउने नाममा माटो र बिरुवामा प्रयोग गरिने रासायनिक मल र विषादीले माटोको उर्वराशक्ति नष्ट हुनाका साथै मानव स्वास्थ्यमा समेत क्यान्सर, बाँझोपना जस्ता रोग लाग्ने बारेमा नाटक हेरेपछि गम्भीर भएको व्यास–११ का सन्तोष गोदारले बताउनुभयो । आफू पनि माटो र पर्यावरण बचाउने अभियानमा जुट्दै प्राङ्गारिक खेती गर्नुपर्नेमा जोड दिँदै आएको उहाँले बताउनुभयो ।

“धेरै फलाउने नाममा विषादीको अत्यधिक प्रयोगले हामीलाई नै असर गरिरहेको विषय नाटकले प्रस्ट पारेको छ”, गोदारले भन्नुभयो, “हामीले प्राङ्गारिक खेती गर्नुपर्छ भन्नेमा दुई मत छैन । हामी सबैको चेतना खुल्न आवश्यक छ ।”

नाटक हेरेपछि अधिकांश दर्शकले आफूहरुलाई विषादी र रासायनिक मलको प्रयोगका बारेमा जानकारी पाएकाले अबदेखि प्राङ्गारिक खेती अपनाउने प्रतिबद्धतासमेत व्यक्त गर्ने गरेको नाटकका निर्देशक घिमिरेले बताउनुभयो ।

मानव स्वास्थ्य बचाउने एकमात्र विकल्प भनेको प्राङ्गारिक र जैविक खेती प्रणाली भएको सन्देश प्रवाह गर्न पनि तनहुँमा नाटक प्रदर्शन गरिएको वरिष्ठ पूर्वपत्रकार नारायण वाग्लेले जानकारी दिनुभयो । पत्रकार वाग्ले आफूले खेत र पाखो बारी गरी करिब ३० रोपनी क्षेत्रफलमा विगत तीन वर्षदेखि जैविक खेती प्रणाली अपनाउँदै आउनुभएको छ ।

“मानिसले कृषिमा गर्ने विषादीको प्रयोगले आफ्नै स्वास्थमा कसरी खेलबाड गरेको छ भन्ने सन्देश नाटकको मूल मर्म हो”, पूर्वपत्रकार वाग्लले भन्नुभयो, “अब रैथाने बीउबिजनको प्रयोग र प्राङ्गारिक खेती अपनाउन सबैलाई आग्रह गर्दछु । स्वास्थ्य आफैले बचाउने हो ।”

नाटक हेरेपछि आफूले अबदेखि ‘प्याकेट बन्द’ खान्की नखाने प्रतिबद्धता व्यक्त गरेको स्थानीय बाराही माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय राजन अधिकारीले बताउनुभयो । “हामीले खाजाका रुपमा विद्यालयमा खाने प्याकेट बन्द खान्की त मन्दविष पो रहेछ”, नाटक हेरेपछि आफू गम्भीर भएको बताउँदै अधिकारीले भन्नुभयो, “अबदेखि प्याकेट बन्द गरिएको खानेकुरा नखाने प्रण गरेँ । बरु हामीले खाने मकै भटमास, गहुँका परिकार नै उत्तमखान्की रहेछन् ।”

गीति शैलीबाट प्रस्तुत गरिएको नाटकमा १० कलाकारले अभिनय गरेका थिए । सङ्गीता उराँव, स्मारिक फुयाल, सुशीला विश्वकर्मा, सुनिता गाहामगर, झकेन्द्र बिसी, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, ज्याक बराल, अनुप तिमल्सिना र प्रेमचन्द पाण्डेयले नाटकमा अभिनय गर्नुभएको छ ।

नाटकमा प्रत्यक्ष सङ्गीत स्मारिका फुयाल र अनुप तिमल्सिनाले दिनुभएको छ । पुनम उराँवको भेषभूषा रहेको नाटकमा सामग्री निर्माण भने धनराज सुनार, जयप्रकाश ताजपुरिया र सुमित भण्डारीको रहेको छ । काठमाडौँ, लमजुङ र तनहुँमा देखाइएको नाटक अब पोखरा, चितवन, रौतहट, सिन्धुली, महोत्तरी, सुनसरी, मोरङ र झापामा देखाइने शिल्पीकला समूहले जनाएको छ । रासस