२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत: विश्व बैंक



symbolic picture
अ+ अ-

काठमाडौँ । विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ ।

विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

यस वर्ष न्यून आर्थिक वृद्धिदर (१.९ प्रतिशत), बढ्दो चालू खाता घाटा र मुद्रास्फीतिलाई विश्व बैंकले चुनौतीका रुपमा देखाएको छ । यस वर्ष जिडिपी तुलनामा चालु खाता घाटा छ दशमलव एक प्रतिशत हाराहारी पुग्ने र वार्षिक औसत मुद्रास्फीति सात दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ ।

नेपालले आउँदा दुई वर्ष चर्को मुद्रास्फीति खेप्ने विश्व बैंकको प्रक्षेपण छ । मुद्रास्फीति सन् २०२४ मा साढे सात प्रतिशत र सन् २०२५ मा छ दशमलव चार प्रतिशत रहने प्रक्षेपण गरिएको छ । सन् २०२० मा कोभिड–१९ महामारीका कारण नेपालको आर्थिक वृद्धिदर नकारात्मक गएको थियो । त्यसयताको सबैभन्दा खराब अवस्था नेपालले यस वर्ष भोगेको छ । नेपालको यस वर्षको आर्थिक वृद्धिदर पछिल्लो एकदशकयताको औसत आर्थिक वृद्धिदरभन्दा न्यून हो ।

नेपालले अवलम्बन गरेको कसिलो मौद्रिक नीति र आयातमा गरिएको कडाइका कारण आर्थिक वृद्धिदरमा सङ्कुचन देखिएको विश्व बैंकले जनाएको छ । विद्युत् उत्पादनका क्षेत्रमा राम्रो प्रगति देखिएकाले त्यसको सकारात्मक प्रभाव औद्योगिक क्षेत्रमा देखिएको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । कर्जाको माग बढ्न नसक्नु र समग्र बजार माग खुम्चिँदा निजी क्षेत्रको लगानी बढ्न नसकेको प्रतिवेदनमा जनाइएको छ । त्यस्तै पशु चौपायामा देखिएको लम्पी स्कीन रोग र सिँचाइ अभावका कारण धान उत्पादनमा कमी आउँदा समग्र कृषि क्षेत्रको वृद्धिदरमा सङ्कुचन आउनसक्ने अनुमान विश्व बैंकको छ ।

सन् २०२५ सम्ममा नेपालको चालू खाता घाटा जिडिपीको तुलनामा तीन दशमलव सात प्रतिशत पुग्ने अनुमान गरिएको छ । त्यस्तै नेपालको जिडिपी अनुपातमा बढ्दो सार्वजनिक ऋण र त्यसको साँवाब्याज भुक्तानी गर्दा बजेट खर्चमा देखिने दायित्वको अंश बढ्ने देखिएको छ ।

केही दिनअघिमात्र एशियाली विकास बैंक (एडिबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको थियो ।

एडिबीले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । रासस