२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बुकी’बाट बेँसी झर्न थाले गोठाला



अ+ अ-

म्याग्दी: गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् ।

पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–३ मुनाका बालकृष्ण मगरले ढोरपाटनको जलजला र धनमाने खर्कमा तीन महिना बुकीको घाँस खुवाएका गाइगोरुको गोठ ल्याएर गत हप्ता गाउँमा झरेको बताउनुभयो । “वैशाखमा उभौलीको पूजा गरेर लेकतिर लागेको गोठ पालुवा पलाउँदै गरेको घाँस खुवाउँदै जेठको अन्तिममा जलजलाको धनमाने खर्कमा पुगेका थियो”, उहाँले भन्नुभयो, “तीन महिना बुकीमा चराएर अहिले गाउँको मकै बारीमा उम्रिएको ल्योस (घाँस) खुवाउन ल्याएको हो ।”

दसैँमा गाउँ नजिकैको बारीमा रहने गोठ तिहारमा धान भित्र्याएपछि बेँसीको सोलवाङ फाँटमा झार्ने चलन रहेको मगरले बताउनुभयो । गोठ बेँसी झर्न थालेपछि गाउँघरमा चाडपर्व भित्रिएको महसुस गर्छन् । पोसिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन् ।

गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहलले रौनक छाएको छ । पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन् । ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन् । महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुने गर्छ । करिब तीन÷चार महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धौलागिरि गाउँपालिका–३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताउनुभयो ।

“पहिले हामी गोठमा जाँदा घरमा किनेर तेल खानुपर्दैनथ्यो । घ्यूले पुग्दथ्यो । मोही धेरै भएर खोलामा फाल्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “अहिले गोठ राख्ने ठाउँसम्म नै गाडी पुगेकाले खाने, बस्ने सामान बोक्नुपरेन । घ्यू र मोहीबाट छुर्पी बनाएर बिक्री गरेर आम्दानी हुन्छ ।” एउटै परिवारले दर्जनौँ पशुचौपाया पाल्ने गर्छन् । बस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन् । ढोरपाटन नजिकैको जलजला र गुर्जाघाट क्षेत्र म्याग्दीको धौलागिरि गाउँपालिकाको कृषकको लागि छुट्टाइएको छ ।

पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकोमा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन् । यसपालि बुकीमा लम्पी स्किन रोग फैलिएपछि धेरै गाईगोरु बिरामी भए र केही मरेका कृषकले बताएका छन् । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बुकीको गोठमै पुगेर लम्पी स्किनबाट बिरामी परेका गाईगोरुको उपचार र खोप लगाइएको बताउनुभयो ।रासस