१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

हिमपातले कतै सास्ती कतै उत्साह : प्राचीनता पनि लोप हुँदै

हिमपातले कतै सास्ती कतै उत्साह : प्राचीनता पनि लोप हुँदै
अ अ+ अ-

मनाङ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ सास्ती खेप्नुपरेको छ । हिउँ नपर्ने स्थानमा लामो समयपछि हिमपात हुँदा मानिस खुशी हुन्छन् भने हिमपात हुने स्थानमा दिनचर्यामा समस्याका साथै सास्ती बेहोर्न बाध्य छन् । 

कमै मात्र हिउँ पर्ने स्थानमा हिमपात भएपछि भने आन्तरिक पर्यटकमा खुसी छाएको छ । हिमपात नहुने स्थानमा परेपछि हिउँ खेल्नु र सामाजिक सञ्जालमा ‘भाइरल’ गराउनु धेरैको रहर सपनाको विषय बन्ने गरेको पाइन्छ । नेपालका धेरै स्थान तथा गाउँलाई हरेक वर्ष हिउँदमा हिउँकै कारण सकस र सास्तीमा जीवनयापन गर्नुपर्ने बाध्यता भएको मध्ये हिमालपारिको जिल्ला मनाङ  एउटा ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ  । 

हिमाली क्षेत्रअन्तर्गत माथिल्लो मनाङवासीले यार्तुङ पर्व मनाएपछि वर्षायाम सकिएर हिउँदयाम सुरु भएको भन्ने बुझिन्छ । वर्षायामको खेतीपाती थन्क्याएपछि माथिल्लो मनाङले साउनको अन्तिममा यार्तुङ मनाउँछन् । त्यसपछि हिउँदका उराठिला महिना सुरु हुन्छ । 

दुवै याममा निर्माण ठप्प

हिउँदमा अत्यधिक चिसो र हिमपात पर्ने भएकाले माथिल्लो मनाङवासी जाडो र हिमपात छल्न बेंसी झर्ने गर्छन् । वर्षायाममा पानी पर्ने हुँदा यहाँको पर्यटकीय गतिविधि र विकासनिर्माणका काम पूर्ण रुपमा ठप्प हुने गर्छ ।

हिमाली जिल्ला मनाङमा जाडोयाममा हिमपातले विकासनिर्माणको काम तथा पर्यटन व्यवसायका कामकारवाही गर्न सकिँदैन । त्यतिबेला आवश्यक सामग्री ढुवानी तथा विकासका कार्य गर्दा पहिले हिउँ फाल्नुपर्ने समस्या हुन्छ ।  विकासको काम सकिनुभन्दा बढी हिउँ फाल्दा खर्च बढी लाग्न सक्ने भएकाले हिउँदमा पनि विकासका कार्य गर्न सकिँदैन । वर्षायाममा कहिले पनि पानी नपर्ने हिमाली जिल्ला मनाङमा पानी परेर बाढीपहिरोे आएपछि विकासका कार्य गर्न सकिदैन । 

गत असारदेखि यता परेको वर्षाले गर्दा यहाँ धेरै क्षति बेहोर्नुपरेको छ । पानी नपरे पनि पहिरो खस्ने गरेको विकट जिल्ला मनाङमा यस वर्ष वर्षा भएपछि धेरै भौतिक क्षति भयो । पुनःनिर्माणको काम अझैसम्म पनि पूरा भएको छैन । 

जाडो छल्न बेंसी

बर्सेनि कात्तिकदेखि फागुनसम्म मनाङमा हिउँ पर्ने गर्छ । सो अवधिमा माथिल्लो मनाङका अधिकांश घरमा ताल्चा मारिएका हुन्छन् । घरका एकाध मात्र पशुचौपाया र घरको रेखदेख गर्न बसेका व्यक्ति मात्रै हुन्छन् । त्यतिबेला यहाँका सबै मानिस जाडो छल्न र  घुम्ती व्यापार गर्न जिल्ला बाहिर निस्कन्छन् । तल्लो मनाङका पनि कतिपय पर्यटन व्यवसायी र बासिन्दा पनि जाडो छल्न पोखरा, काठमाडौंँ जाने गर्छन् । 

हिउँदमा जिल्लाका सबै नागरिक बेंसी झर्ने यहाँको पुख्र्यौली परम्परा हो । हिउँदमा यहाँ अत्यधिक चिसो हुने र जनजीवन प्रभावित हुने भएकाले मनाङबासी बेंसी झर्नु रहर नभई बाध्यता हो । अत्यधिक चिसो र हिमपातले घरका धारा, सेफ्टी ट्याङकी, सिंचाइ कुलोलगायत जमेर दैनिक जीवनयापनमा असर पु¥याउने भएकाले पनि उनीहरु बेंसी वा जिल्ला बाहिर जान बाध्य छन् । यसरी बेंसी झर्दा घरपालुवा पशुचौपाया र ससाना बालबालिकाको रेखदेख र व्यवस्थापनमा उत्तिकै समस्या पर्छ ।  हिउँदका महिना जिल्लाका सरकारी कार्यालयसमेत करिब करिब सुनसान नै हुन्छन् ।

जलवायु परिवर्तनको प्रभाव

जलवायु परिवर्तनको प्रभावका कारण पछिल्ला वर्षमा स्वाभाविक हिउँ पर्न सकिरहेको छैन । हरितगृह ग्यास उत्सर्जनका कारण वातावरण क्षेत्रमा परेको नकारात्मक प्रभावले हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुने गरेको पाइएको छ । मनाङमा कुनै वर्ष अत्यधिक तथा कुनै वर्ष आंशिक हिमपात हुने गर्छ । कुनै वर्ष हिमपातसंँगै तल्लो मनाङमा भारी वर्षा हुने गरेको छ । विगतमा  हिमपातका कारण सयौंँ याक, चौँरी र भेडाच्याङ्ग्रा खर्कमा हिउँमा पुरिएर मरे । त्यसपछि माथिल्लो मनाङमा त्यस्तो भारी हिउँ भने परेको छैन । 

स्थानीयवासी चौंरीपालक किसान याङदुङ गुरुङ विगतमा जस्तो हिउँ नरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विगतमा हिमपात धेरै हुन्थ्यो । चौँरी खर्कहरु हिमपातले पुरिने गथ्र्यो । अहिले बेमौसममा हिमपात हुन्छ । विगतमा कात्तिक, मङ्सिरमा मात्रै हिउँ पर्ने गथ्र्यो तर अहिले बेमौसममा हिउँ पर्छ । यसले गर्दा वस्तुभाउको चरण क्षेत्र नासिएको छ ।” चरण क्षेत्र नासिएपछि युवाहरू पशुपालनबाट विमुख भएको उहाँको बुझाइ छ । बेमौसमका हिउँले धेरै वनजङ्गल तथा चरण क्षेत्र र उत्पादनसमेत घटेको उहाँ बताउनुहुन्छ । 

ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले भन्नुहुन्छ, “विगतमा जस्तो हिउँ पर्न सकेको छैन । आंशिक मात्रै परेको छ । तहननहस हुने गरी भारी हिमपात भएको छैन । हिउँदको हिमपात स्वाभाविक नभई असन्तुलित भइरहेको छ ।” विगतमा मनाङको तल्लो क्षेत्रमा समेत पाँच फिटसम्म हिउँ पर्ने गथ्र्यो । हिमपातले कृषि क्षेत्रलाई राहत पु¥याउँथ्यो तर पछिल्लो समयको जस्तो हिउँ देख्न पाइएको छैन ।” उहाँले हिमपातले खुसीसँंगै सास्ती दिने गरेको पनि सुनाउनुभयो । 

मासिए माटाका घर 

यहाँका सदियौँ वर्ष पुराना माटाले बनेका परम्परागत घर छन् । सडक सञ्जाल जोडिएपछि ऐतिहासिक घर क्रमशः मासिएका छन् । सडकको पहुँच, आधुनिकता र जलवायु परिवर्तनका कारण हिउँ नपरी वर्षा हुन थालेपछि माटाले बनेका घर विस्थापन हुने क्रम बढेको छ । 

माथिल्लो मनाङ र नार्पाभूमि क्षेत्रबाहेक अन्य क्षेत्रमा माटाका घर कमै पाइन्छ । जलवायु परिवर्तनले हिउँसँगै पानी पर्न थालेपछि यहाँ पक्की घर बन्न थालेका हुन् । माटाको घरभन्दा सुरक्षित भएकाले पनि पक्की घर बनाउनतर्फ स्थानीयवासी लाग्ने गरेको पाइन्छ । 

हिउँ पर्दा घरमाथि हिउँ थुप्रिएर बस्थ्यो । हिमपातसंँगै वर्षा हुँदा माटाले बनेका घरले थेग्न नसकेर चुहिने, भत्किने क्रम बढेपछि मासिन थालिएको बताइन्छ । हिमपातका कारण घरमाथि हिउँको चाङ लागेपछि स्थानीयवासी हिउँ पन्छ्याउन जुट्छन् । हिउँ नपन्छयाइए पग्लिएर घरभित्र चुहिने हुन्छ । 

याकचौँरी घर नजिक ल्याउने समय

खर्कमा रहेका याकचौँरीसमेत हिमपातकै कारण बस्ती नजिक स्थान्तरण गरिन्छ । पशु चौपायालाई आहारा दिन र न्यानो पार्न तिनलाई बस्ती नजिक सार्ने गरिन्छ । हिमाली क्षेत्रमा हिमपातका बखत ठाउँठाउँमा सडक अवरुद्ध हुँदा पर्यटक तथा कामदारले समेत सास्ती भोग्नुपरेको छ ।

हिमपातले घरबाहिर निस्कन नसक्ने अवस्थामा कामदारले बाक्लो हिउँमा जमेर बसेका पशुचौपायालाई  तातो आहारा दिनसमेत मुस्किल हुने गर्छ । 

किसानमा खुशी

हिमपातले स्थानीयवासीलाई सास्ती भए पनि यहाँका किसान भने उत्साहित हुने गर्छन् । हिउँदयामको हिमपात तिनका लागि वरदान सावित हुने भएकाले उत्साह थपिने गरेको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश गुरुङले बताउनुभयो । हिउँले जमिनको भित्री सतहलाई सिंचित गर्ने भएकाले कृषकले लगाएको अन्नबाली फस्टाउने उहाँको भनाइ छ । उहाँका अनुसार हिउँले स्याउ, ओखर, उवा, फापर, आलुलगायत फलफूल र अन्नबाली सप्रिन्छ । हिउँले फलफूल तथा तरकारीमा लाग्ने विभिन्न प्रकोपसमेत नियन्त्रण गर्न सघाउने उहाँ बताउनुहुन्छ । प्राङ्गारिक औषधिका रुपमा समेत हिउँको योगदान उत्तिकै हुने गर्छ । पछिल्ला वर्षमा अपेक्षा गरेअनुरूप हिउँ पर्न नसक्दा स्याउलगायत फलफूल र  अन्नबालीमा स्क्याप रोग लागेकाले कम स्याउ उत्पादन हुनाका साथै गुणस्तरसमेत खस्किएको छ । 

‘आइस क्लाइम्बिङ’

पहिले हिउँ खेल्न र  रमाउन जिल्ला बाहिरका उल्लेख्य पर्यटक मनाङ आउने गर्थे । कोभिड –१९ सङ्क्रमणका कारण पछिल्ला तीन वर्ष हिमपातले पर्यटन क्षेत्रलाई योगदान दिन सकेको छैन । हिउँ खेल्ने पर्यटक वृद्धि गर्नाका साथै जोखिममा पर्वतारोहणमा सहयोग पुर्‍याउने उद्देश्यले ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण दिइएको छ ।  पहिले नेपाल पर्वतारोहण प्रशिक्षण सङ्घका आयोजनामा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको सहयोगमा  ङिस्याङ–४ हुम्डेस्थित ‘हुम्डे झरना’मा लेबल –१ अन्तरगतको आइस क्लाइम्बिङ प्रशिक्षण दिइएकामा यसपालि आवश्यक प्रशिक्षार्थी सहभागी गराउन सकिएन ।