काठमाडौँ । साबिक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि आफ्नो मार्की खेलाडीका रुपमा राष्ट्रिय फुटबल टोलीका सदस्य आशिष चौधरीसँग सम्झौता गरेको छ ।
२३ वर्षीय आशिषले चर्च ब्वाइज युनाइटेडबाट सहिद स्मारक लिग ‘ए’ डिभिजन खेलेका थिए । उनको टोली डेब्युमै सहिद स्मारक लिगको विजेता बनेको थियो ।
बंगलादेशविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका आशिषले ६ क्याप जितिसकेका छन् । आशिष एनएसएलको पहिलो सहभागितामै मार्की खेलाडीमा अनुबन्ध भएका हुन् ।
नेपाल सुपर लिगको दोस्रो संस्करणको अक्सन शनिबार हुँदैछ । दोस्रो संस्करणका लागि गत वर्ष नै अक्सन भएको थियो । तर, धेरै खेलाडी विदेश गइसकेकाले फेरि अक्सन हुने भएको हो ।
१० टोलीको समावेश हुने भनिएपनि विराटनगर सिटी एफसीले भाग नलिने भएपछि ९ टोलीले दोस्रो संस्करणको एनएसएलमा प्रतिस्पर्धा गर्दैछन् ।