२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङका पहिरो पीडितलाई एकीकृत आवास हस्तान्तरण



अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका अस्थायी एकीकृत आवास कक्ष पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । पहिरो पीडित ६५ घरपरिवारलाई आज एक कार्यक्रमका बीच उक्त आवास कक्ष हस्तान्तरण गरिएको हो ।

गत साउन ७ गतेदेखि सुरु गरी दुई महिनामा अस्थायी आवास निर्माण सम्पन्न गरी आज पीडित परिवारलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । पालिका अध्यक्ष वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू र सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले संयुक्तरुपमा आवास कक्ष हस्तान्तरण गरेका छन् ।

वडा नं ४ ओदकका ६२, ताम्राङका दुई र वडा नं ३ का एक परिवार गरी अस्थायी एकिकृत आवास स्थलमा ६५ परिवार रहेका अध्यक्ष वनेमले बताउनुभयो । उहाँका अनुसार ६५ मध्ये ६३ परिवार शेर्पा समुदायका र दुई लिम्बू समुदायका छन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार आवास स्थल निर्माणका लागि दातृ निकाय, विभिन्न संस्था तथा व्यक्तिमार्फत रू ५५ लाख ९२ हजार सात सय ७० सहयोग प्राप्त भएको थियो । “टोल विकास संस्था, विद्यालय र समुदायका सदस्यमार्फत श्रमदानसहित रू ६८ लाख एक हजार र गाउँपालिकाका तर्फबाट रू २६ लाख ६० हजार १७ गरी कूल एक करोड ५० लाख ५३ हजारसात सय ८७ मा आवास निर्माण गरिएको हो”, उहाँले भन्नुभयो ।

 

औसतमा एउटा अस्थायी आवास कक्ष निर्माणका लागि रू दुई लाख ३१ हजार पाँच सय ९६ का दरले खर्च भएको पालिकाले जनाएको छ । आवास स्थलमा पाँच जनासम्म सदस्य भएका परिवारका लागि ३६, आठ जनासम्म सदस्य भएकाका लागि २३ र १२ जनासम्म सदस्य भएका परिवारका लागि छ वटा अस्थायी घर बनेका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । उहाँका अनुसार ३६ शौचालय र १८ धारा निर्माण गरिएका छन् ।

गाउँपालिकाले सहयोगी निकाय तथा दाताहरुप्रति आभार प्रकट गरेको छ । गत असार २ गतेदेखि आएको अविरल बर्षापछि गएको बाढीपहिरोका कारण ताप्लेजुङका अधिकांस पालिकामा क्षति पुगेको थियो । रासस