९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गर्नुभएको छ ।

राष्ट्रकवि स्व घिमिरेको १०४औँ जन्मजयन्तीका अवसरमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आज शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले रु एक लाख राशि र सम्मानपत्रसहितको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्राडा त्रिपाठीलाई प्रदान गर्नुभएको हो ।

राष्ट्रकवि घिमिरेकी पत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजीव घिमिरेद्वारा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहनेगरी रु १६ लाखको अक्षयकोष स्थापना गरेसँगै उहाँको जन्मजयन्तीका अवसर पारेर पहिलोपटक उक्त पुरस्कार प्रदान गरिएको हो ।

यसअघि उहाँले विसं २०३४ मा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । प्राडा त्रिपाठीले नेपाली साहित्यको विशिष्ट प्रतिभा राष्ट्रकविको नाममा स्थापित पुरस्कार पहिलोपटक आफूले पाउँदा ज्यादै भाग्यमानी महसुस भएको बताउनुभयो । उहाँले नेपाली वाङ्मय र साहित्यको क्षेत्रलाई अगाडि बढाउन राष्ट्रकवि घिमिरेको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र सङ्घका पूर्वराजदूत एवं पुरस्कार छनोट समितिका सदस्य प्राडा जयराज आचार्यले पुरस्कारको आधार बनाएर पुरस्कार छनोट गरिएको बताउनुभयो । उहाँले राष्ट्रकवि पुरस्कार ज्येष्ठ, उत्कृष्ट र वरिष्ठताका आधारमा प्राडा त्रिपाठीलाई प्रदान गरिएको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं पुरस्कार छनोट समितिका संयोजक विजयराज न्यौपानेले नेपाली भाषा, कला, समालोचना, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनको योगदानका आधारमा पुरस्कार वितरण गरिएको बताउनुभयो । उहाँले प्रतिष्ठानले आगामी दिनमा राष्ट्रकविको मूर्ति स्थापना गर्ने लक्ष्य राखेको उल्लेख गर्नुभयो । पुरस्कार छनोट समितिमा अध्यक्ष न्यौपाने, विज्ञ आचार्यसहित पुरस्कारदाताका तर्फबाट डा हेमाङ्गराज अधिकारी सदस्य हुनुहुन्थ्यो ।

राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरेले राष्ट्रकविलाई साहित्यमार्फत चिरकालसम्म सम्झनका लागि अक्षयकोष स्थापना गरेर पुरस्कार घोषणा गरिएको बताउनुभयो । उहाँले उक्त पुरस्कार राष्ट्रकविको जन्मजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गरिने उल्लेख गर्नुभयो ।

सो अवसरमा साहित्यकार विजयराज न्यौपानेद्वारा लिखित बाल साहित्यकार स्व एकाराम सिंहको जीवनी समेटिएको पुस्तक लेखक न्यौपानेले राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । रासस