२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानामा रोग देखिएपछि केरा आयातमा कडाइ



अ+ अ-

भैरहवा (रुपन्देही), ।  भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस चार (पानामा)  देखिएसँगै नेपालभरिका नाकामा रहेका ‘प्लाण्ट क्वारेन्टाइन’ले उच्च सतर्कता अपनाएका हुन् ।

टीकापुरका केही बगैँचामा केराको बोट ओउलाउने रोग टिआर–४ देखिएकाले सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना जारी गरेको छ । करिब १४ वर्ष अघि नेपालमा पानामा रोगको रेस–१ भारतबाट भित्रिएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताउनुभयो । उहाँका अनुसार चितवनमा यो रोग सात वर्षदेखि व्यापकरूपमा फैलिँदै गएको छ ।

“रेस–१ ले मालभोगलगायतका स्थानीय जातलाई निकै नोक्सान पुर्‍याउँछ । नयाँ जात जि–नाइन, विलयम हाइब्रिड, चिनयाँ चम्पालगायत जातले रेस–१ लाई पूर्णतया सहन सक्छन्”, प्रमुख अर्यालले भन्नुभयो, “नयाँ प्रजाति पानामा ९टिआर–४० ले भने नेपालमा खेतीका लागि उपलब्ध सबै केराका जातलाई पूर्णतया नष्ट गर्नसक्ने क्षमता राख्दछ ।”

रोग लागेमा सुरूमा पुराना पातको फेद पहेँलो हुने भनदै पछि, पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठ भाँचिने बताउनुभयो । “यो रोगको ढुसीले आक्रमण गरेको चारदेखि पाँच महिनापछि बिरुवामा लक्षण देखाउँछ । रोग सङ्क्रमित बिरुवा रोपण गरेमा रोग लागेको दुई महिनाभित्र लक्षण देखिन सक्छन्”, उहाँले भन्नुभयो ।

पनामा रोग माटोमा बस्ने ढुसी भएका कारण सर्ने प्लाण्ट क्वारेन्टाइन कार्यालयका भैरहवाका प्रमुख कुलदीप घिमिरेले बताउनुभयो । उहाँका अनुसार एक ठाउँबाट अर्को ठाउँसम्म सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सङ्क्रमण फैलने गर्दछ । यसका साथै केरा बोक्ने गाडीको टायर, जुत्ता, चप्पलमा टाँसिएको माटोमार्फत एक खेतबाट अर्को खेतमा रोगको सङ्क्रमण सर्ने सम्भावना रहेको घिमिरेले बताउनुभयो । सङ्क्रमित माटो, पानी र औजार रोगका प्रमुख स्रोत रहेको उहाको भनाइ थियो ।

भारतबाट आउने केराका गाडी रोग सार्ने प्रमुख स्रोत रहेकाले अहिले भन्सार विन्दुमै कडाइ गरिएको प्रमुख घिमिरेले बताउनुभयो । “हामीले केराका कोसाबाहेक अन्य कुनै पनि वस्तु केराका गाडीमा ल्याउन दिँदैनौँ”, उहाँले भन्नुभयो, “टिआर–४ केराका कोसाबाट सर्दैन, कोसा सुरक्षित गरी ल्याएकालाई मात्रै क्वारेन्टाइन गर्ने गरेका छौँ ।”

केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै उनीहरुको टायर सफा गर्ने र कतै माटो नरहेको सुनिश्चित गरेपछि पठाउने गरिएको घिमिरेले बताउनुभयो । “यो सबै काम प्लाण्ट क्वारेन्टाइन कार्यालयले गर्ने गरेको छ”, उहाँले भन्नुभयो, “भारतबाट कुनै पनि प्रकारको केराको बेर्ना ल्याउन निषेध गरिएको छ ।”

भैरहवा भन्सार नाका भारतीय केरा आयात गर्ने मुख्य भन्सारको रुपमा रहेको छ । यस नाको हुँदै भारतका अधिकांश स्थानबाट केरा नेपाल आउने गरेको छ । आव २०७९/८० मा भैरहवा भन्सार हुँदै रू एक अर्ब पाँच करोड ९७ लाख ३३ हजार मूल्य बराबरको ३७ हजार छ सय ३८ मेट्रिक टन केरा आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नारायणदत्त जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको भदौ महिनाभित्र रू १९ करोड ४६ लाख ३५ हजार मूल्य बराबरको चार हजार छ सय १९ मेट्रिक टन केरा आयात भएको छ ।

रुपन्देही र नवलपरासी (पश्चिम) मा केरा खेती ठूलो मात्रामा गरिएकाले पनि रोग भित्रिन नदिन सिमामा कडाइ गरिएको जोशीले बताउनुभयो । नवलपरासी (पश्चिम) मा केरा खेतीको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले केरा जोन निर्धारण गरेको छ । परियोजना कार्यान्वयन एकाइ भैरहवाका प्रमुख नारायण काफ्लेका अनुसार नवलपरासीमा मात्र एक हजार एक सय ५० हेक्टरमा केरा खेती गरिएको छ ।

रुपन्देहीमा दुई सय ८० हेक्टरमा केरा खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख अर्यालले जानकारी दिनुभयो । “अहिले खेती गरिएका सबै जि–नाइन प्रजातीका केरा हुन्, यिनीहरु टिआर–४ सँग लड्न सक्दैनन्”, उहाँले भन्नुभयो, “लुम्बिनी प्रदेश पानामा सङ्क्रमणको अत्याधिक जोखिममा देखिएकाले सतर्कता अपनाउन आवश्यक छ ।”

केरा जोन नवलपरासी (पश्चिम) को प्रतापपुरमा यही रोगसँग मिल्दोजुल्दो लक्षणका केराका बोट देखिएका काफ्लेले बताउनुभयो । उहाँले उक्त रोग टिआर–४ वा अन्य भएको विषयमा अनुसन्धानका लागि राष्ट्रिय बाली रोग अनुसन्धान प्रयोगशालामा नमूना पठाइएको जानकारी दिनुभयो । प्रयोगशालाबाट नतिजा आई नसकेकाले परियोजना सतर्क अवस्थामा रहेको उहाको भनाइ थियो । रासस