२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए



अ+ अ-

गण्डकी । पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ ।

यस वर्षको गणना सम्पन्न भएको जनाउँदै तीन सय ८७ गिद्ध भेटिएका समाजका अध्यक्ष मनशान्त घिमिरेले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार समाजले यस वर्ष पोखरा आसपासका घाचोक, पुम्दीभुम्दी, पुरानो एवं नयाँ ल्यान्डफिलसाइट र दोभिल्लाका साथै तनहुँका व्यास नगरपालिका–१० स्थित शिशुवाभतेरी, शुक्लागण्डकी नगरपालिकास्थित गौ संरक्षण केन्द्र र दमौलीस्थित ल्याण्डफिल साइडमा गिद्धको गणना गरेको थियो ।

पछिल्ला समयमा बासस्थानका कारण बर्सेनि गिद्धहरू सङ्कटमा पर्दै गएको घिमिरेले बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर विसर्जनस्थल पोखरा–३२ लामेआहालमा सारिएको छ । गिद्धको बासस्थान विशेषत: अग्लो सिमलको रूख भए पनि पोखरा आसपासका क्षेत्रमा बस्तीको विकाससँगै यहाँ रहेका सिमलका रूख काटिने क्रमसँगै उनीहरूको बासस्थान सङ्कटमा परेको यस क्षेत्रका अनुसन्धाता बताउँछन् ।

पोखरा उपात्यकाका चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायत स्थानमा करिब १५/१६ वर्षअघिसम्म ठूलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेका घिमिरेको भनाइ थियो । उहाँका अनुसार सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती र यातायातका साधन एवं उद्योगबाट निस्कने धुलो धुवाँका कारण गिद्ध सङ्कटमा परेका हुन् ।

नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको सङ्ख्या घट्दै गएको छ । बासस्थान सङ्कटमा पर्नुका साथै गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको अनुसन्धाताहरू बताउँछन् ।

“औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई विसं २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ”, उहाँले भन्नुभयो ।

घिमिरेका अनुसार विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइने उहाँले जानकारी दिनुभयो ।

पोखरा आसपासमा गरिएको गणनामा सेतो गिद्धको सङ्ख्या सबैभन्दा बढी देखिएको र राज गिद्ध एउटा मात्र फेला परेको घिमिरेले बताउनुभयो । रासस