५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्छः राष्ट्रपति पौडेल

शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्छः राष्ट्रपति पौडेल
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उहाँले लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “कतै हाम्रो कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतःत्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ ।”

राष्ट्रपति पौडेलले गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तन मात्र होइन, यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो, यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहार मात्रै होइन आचरणमा परिवर्तन पनि भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिकरुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौँ, तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ ।” राष्ट्रपति पौडेलले हामी सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण चरण पार गरेको र वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र नभई वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको हो, अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि नीति सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्र्तय हो ।”

राष्ट्रपति पौडेलले तर यहाँ व्यवस्था त परिवर्तन भयो हाम्रो देश समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रशासनिकरूपमा राज्यको पुनःसंरचना गर्‍यौँ, तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ, तर राज्यको चरित्रको भने पुनःसंरचना हुन अझै बाँकी छ ।”

उहाँले सुखद भविष्य प्राप्त गर्न हामीले राजनीतिक उपलब्धिलाई जोगाउँदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प छैन भन्नुभयो । “हिमाल पहाड तराईको अनुपम भौगोलिक संरचनाको हाम्रो बहुजाति, बहुभाषी, बहुसंस्कृति र विभिन्न सम्प्रदायलाई संविधानले समान संरक्षण प्रदान गरेको छ । यस्तो अवस्थामा नेपालीबीच रहेको आपसी सद्भाव र भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

संविधानको कार्यान्वनसँगै नेपाली जनताको सुखद भविष्यको सुरु भएको बताउँदै उहाँले भन्नुभयो, “लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन् । यी निश्चय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिका जगमा हाम्रो भविष्यको सुखद यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।”

नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “यो निकै महत्त्वपूर्ण अवसर हो तर हामीले आफ्नो आचरण, चरित्रमा व्यापक सुधार गरेर लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा मात्र त्यो सम्भव छ ।”

अहिले जनआन्दोलनका उपलब्धिमाथि फेरि कहीँकतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थालाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि हामी चनाखो हुनैपर्छ । यस्तो अवस्था किन र कसरी आउन सक्छ रु यो प्रश्नमा हामी सबै जिम्मेवार हुनु आवश्यक ठान्दछु ।”

हाम्रो संस्कृति र प्रकृतिले हामीलाई देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको उहाँको भनाइ थियो । “सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनका माध्यमबाट हाम्रो जलस्रोत र ऊर्जा शक्तिको मात्र उचित व्यवस्थापन गर्नसके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना अगाडि देखापरेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले सुशासन नै हाम्रो अमनचयन, विकास र समृद्धिको आधार भएकाले उल्लेखित सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । यसका लागि सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धलाई अझै सुदृढ गरी राष्ट्रिय अर्थतन्त्रलाई सवलीकरण गर्दै युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न राष्ट्रपति पौडेलले सबैसँग आग्रह गर्नुभयो ।

जलवायु परिवर्तनको प्रभावका कारण विगत केही वर्षयता प्राकृतिक प्रकोपले विश्वलाई अत्यन्तै बढी प्रभावित पारिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको प्रभावन्यूनीकरणका लागि विश्व समुदायलाई साथ लिँदै अगाडि बढ्नु अहिलेको अर्को महत्त्वपूर्ण आवश्यकता भएको औंल्याउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “समयले हामीलाई जुन दायित्व दिएको छ, त्यो दायित्व पूरा गर्न तथा राज्य व्यवस्थाका हरेक आयाममा देखिने अव्यवस्थालाई हटाएर लोकतान्त्रिक मूल्यको संस्कार विकास गरी समाजको समग्र रूपान्तरण गर्न अब एकताबद्ध बनौँ र यसका लागि आजै ऐतिहासिक सङ्कल्प गरौँ ।”

आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको सात दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको राष्ट्रपति पौडेलले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “गौरवमय क्षणमा सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।”

आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौँ यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई परिवर्तनका पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धालाई उहाँले अपार सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्न गर्नुभयो ।

साथै राष्ट्रपति पौडेलले लोकतान्त्रिक आन्दोलनका अग्रज नेताहरूलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु भन्नुभयो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाल ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, पूर्वप्रधानमन्त्री सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीति नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिको पनि समारोहमा सहभागिता थियो । रासस