• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

सुशासनमा उदासिनता, ठूला दलहरुको काम कमजोरः पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले मार्गदर्शन गरेका मुलभुत विषय र मर्मलाई समातेर कार्यान्वयनको पक्षमा जानुपर्ने बताउनुभएको छ ।

अहिलेको राष्ट्रको आवश्यकतालाई व्यवस्थापन गर्नेगरी नेपालको संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बहुजातिय बहुभाषिक, बहुसांस्कृतिक साथै भौगोलिक विविधताले पनि भरिपूर्ण भएकाले स्नेह, सद्भाव र सहिष्णुतालाई ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले समाजमा अराजक गतिविधि बढ्न थालेको उल्लेख गर्दै यो देशकै लागि समस्याको विषय बनेको बताउनु भयो । उहाँले देशमा युवाशक्तिको पलायन बढीरहेको भन्दै यस्ता समस्यालाई समाधान गर्न पहल, प्रयत्न र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्वराष्ट्रपति भण्डारीले देशको राष्ट्रिय अर्थतन्त्र कमजोर भएको उल्लेख गर्नुभयो । उहाँले शिक्षा प्रणालीमा भएका कतिपय कमजोरीका कारणले पनि समस्या निम्त्याइरहेको बताउनु भयो । उहाँले सुशासनमा सत्तारुढ दलहरुको उदासिनता र ठूला राजनीतिक दलहरुले गर्नुपर्ने काम कमजोर रहेको भन्दै यस्ता समस्या समाधानका लागि सबैबीच एकता आवश्यक भएको बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक अस्थिरताका कारणले पनि मुलुकमा केही समस्या देखापरेको र केही स्वार्थ समूहहरु पनि अस्थिरता निम्त्याउन हाबी भएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय हीत, राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर नेपालका जिम्मेवार राजनीतिक दलहरु, मुलधारका राजनीतिक दलहरु अघि बढ्ने हो भने कुनैपनि समस्या हल गर्न सकिने जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीम उहाँले कृषि, जलश्रोत, पर्यटन, भौगोलिक विविधता, सांस्कृतिक विविधता, उर्वर जमिन र संस्कृतिको जगेर्ना र संरक्षण गरी जनताको विकासको आधारको रुपमा लैजानसके छोटो समयमा देश विकास गर्न सकिने उल्लेख गर्नुभयो । जनताको खुशी भनेको राष्ट्रको समृद्धिसँग जोडिएको हुने भन्दै उहाँले राष्ट्रको समृद्धिको लागि तत्सम्बन्धित धेरै कामहरु गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय क्षमता र शक्तिको सही सदुपयोग गर्नसके जनतामा खुशी र जनताको सुख अभिवृद्धि गर्न सकिने बताउनु भयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवसको अवसरमा जारी सन्देश:

‘सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनी, स्वदेश र प्रवासमा समेत बस्नुभएका सबैलाई यो वर्षको संविधान धेरै धेरै शुभकामना । संविधान नेपालको मुल कानून हो । अहिलेको राष्ट्रको आवश्यकतालाई व्यवस्थापन गर्नेगरी नेपालको संविधान निर्माण भएको छ । संविधानले मार्ग दर्शन गरेका मुलभुत विषयहरु र मर्मलाई समातेर हामी कार्यान्वयनको पक्षमा जानुपर्छ जस्तो मलाई लाग्छ । हाम्रो देश बहुजातिय बहुभाषिक, बहुसांस्कृतिक, देश हो । साथै भौगोलिक विविधताले पनि भरिपूर्ण देश हो ।

हाम्रो देशको भौगोलिक अवस्थिति पनि संवेदनशील छ । यी सबै कुरालाई विचार गरिकन हामीले हाम्रो शक्तिको लागि हामीबीचको स्नेह, सद्भाव र सहिष्णुता नै हाम्रो सम्पती हो । यसलाई हामीले उच्च रुपमा अघि बढाउनुपर्छ र आजको आवश्यकता पनि त्यो हो भन्ने मलाई लाग्छ । समाजमा केही अराजकता बढ्न थालेको देखिन्छ । यो पनि हाम्रो लागि समस्या हो ।

अर्को कुरा भनेको देशमा युवाशक्तिको पलायन पनि व्यापक रुपमा भइरहेको छ । यो पनि एउटा समस्याको रुपमा देखा परेको छ । यी समस्यालाई समाधान गर्न, निवाकरण गर्नको लागि हामीले पहल, प्रयत्न र राष्ट्रिय एकता कायम गर्नुपर्छ । बेरोजगारीको कारणले गर्दा देशको राष्ट्रिय अर्थतन्त्र कमजोर भएको कारणले शिक्षा प्रणालीमा भएका कतिपय कमजोरी कारणले गर्दा र यी समस्याहरुको साथसाथै सुशासनमा जुन खालको सत्तारुढ दलहरुले व्यवस्थापन गर्नुपर्ने हो र ठूला राजनीतिक दलहरुले जुन ढंगले अघि बढ्नुपर्ने हो त्यो कुरामा पनि केही समस्या देखिन्छ ।

यसलाई समाधान गर्नको निम्ति हामीबीचको एकता आवश्यकता पर्छ । यो कुरालाई गम्भीरतापूर्वक मनन गरेर नै हामी अघि बढ्नुपर्छ भन्ने म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी र नेतृत्व वर्गमा रहनुभएकाहरुलाई पनि आग्रह गर्न चाहन्छु । हाम्रो तर्फबाट गर्ने भुमिका हामी सबैले पूरा गर्नुपर्छ ।

अहिले भएको यावत समस्यालाई हामीले संविधानमा व्यवस्था गरेको राम्रा विषयलाई कार्यान्वयनमा जाँदाखेरि व्यापक रुपले गर्न सकिन्छ । एउटा त राजनीतिक अस्थिरताका कारणले पनि केही समस्या आएका छन् । केही स्वार्थ समूहहरु पनि हाबी भएको छ । त्यसैले हामीले राष्ट्रिय हीत, राष्ट्रिय स्वार्थलाई ध्यान नेपालका जिम्मेवार राजनीतिक दलहरु, मुलधारका राजनीतिक दलहरु, अघि बढ्दा हाम्रो अघि जुन समस्याहरु देखिएका छन् । ती कुनैपनि समस्या समाधान गर्न नसकिने भन्नेकुरा हुँदैन ।

जनतामा एउटा व्यापक उत्साहका साथ हामी पनि २१ औं शताब्दीको नेपाल कस्तो हुनुपर्छ विश्वमाझ ? भनेर चिनाउन हामी सक्छौँ । हाम्रो राष्ट्रिय क्षमता हामीलाई प्रकृतिले दिएको वरदान नै छ । हामीसँग कृषि उत्पादन गर्न सकिने उर्वर जमिन छ । त्यस्तै गरेर भौगोलिक विविधता पनि छ । हामीसँग जलश्रोत छ, हामीसँग यस्तो एउटा सांस्कृतिक विविधता छ । जो सायद संसारका कम देशहरुमा यस्तो छ होला । त्यस्तै गरेर अब वनस्पतिको हिसावले पनि हामी धनी छौँ ।

यी कुरालाई हामीले राष्ट्रिय शक्तिको रुपमा हाम्रो उर्वर जमिन, हाम्रो संस्कृति र हाम्रो जलश्रोत यसलाई हामीले दरोगरी समाउने हो भने र हाम्रो वनस्पतिहरुलाई हामीले जनताको विकासको आधारको रुपमा यी शक्तिहरुलाई लिने हो भने हामीले छोटो समयमा देशमा विकास गर्नसक्छौँ । विकास भएपछि विकास सँगसँगै खुशी आउँछ ।

जनताको खुशी भनेको राष्ट्रको समृद्धिसँग जोडिएको हुन्छ । राष्ट्रको समृद्धिको लागि हामीले तत्सम्बन्धित धेरै कामहरु गर्नुपर्छ । यो अहिलेको जुन निराशाजनक अवस्था उत्पादन गर्न खोजिएको छ, त्यसलाई समाधान गर्नसक्छाँै । हाम्रो जुन राष्ट्रिय क्षमता छ, शक्ति छ, त्यसलाई हामीले सही सदुपयोग गर्नुपर्छ । राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु पर्छ । योसँगै जनतामा खुशी र जनताको सुख हामी अभिवृद्धि गर्नसक्छौँ ।’