५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै खुलेनन् बागलुङका ग्रामीण सडक



अ+ अ-

ढोरपाटन । तीन महिनादेखि बन्द भएका ग्रामीण सडक अझै खुल्न सकेका छैनन् । बाढी र पहिराले अवरुद्ध बनेका सडक अहिलेसम्म सञ्चालन नहुँदा चाड पर्वका लागि सामान ढुवानीमा समस्या भएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार तथा आसपासका व्यापारिक केन्द्रदेखि गाउँ–गाउँ जोडिएका सडक गत असारदेखि नै बन्द भएका हुन् ।

ठूलो वर्षा हुन रोकिए पनि सडक सञ्चालन नहुँदा सामान ढुवानी र यात्रा गर्न समस्या भएको बडिगाड गाउँपालिकाका तिलबहादुर घर्तीमगरले बताउनुभयो । चाडपर्व सुरु हुँदा पनि गाउँपालिकाले सडक खुलाउन चासो नदेखाएकाले बजारबाट सामान ढुवानी गर्न नसकिएकोे उहाँको गुनासो थियोे ।

“यस वर्ष पोहोर परार सालको जस्तो ठूलो वर्षा भएको छैन तर पनि बजारबाट आउने मोटरबाटोको धेरै ठाउँमा पहिरोले सडक ठप्प भएका छन्, सडक कहिले खुलाउँछन् थाहा छैन, तीजपछि दसैँ र तिहार पनि आउन थाले,” तिलबहादुरले भन्नुभयो, “बर्खाभरि घरमा भएका सबै सामान सकियो, बजारबाट बोकेर ल्याउनुपर्छ, गाडी चले त एक/दुई घण्टामै गाउँमै सामान आउँथ्यो, सडक कहिले खुल्ने हो थाहा छैन ।”

बागलुङमा तीनवटा राष्ट्रिय सडक पर्छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन सडकले बागलुङमा विकासका थुप्रै सम्भावनाका ढोका खोले पनि लोकमार्गबाहेक अन्य मुख्य सडक बाह्रै महिना चल्दैनन् । कोरिडोर हिउँदमा चले पनि बर्खामा पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । सालझण्डी–ढोरपाटन सडक भने अहिलेसम्म सिधा सञ्चालन हुन सकेको छैन । बरेङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक बर्खाका कारण बन्द छन् ।

सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानी गर्न र बिरामीलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याउन समस्या भएको स्थानीयवासी वीरबहादुर विकले बताउनुभयो । उहाँले गाउँमा सडक आए पनि बर्खामा गाडी नचल्दा स्थानीयवासीले सास्ती खेप्नु परेको गुनासो गर्नुभयो । अघिल्लो वर्षको जस्तो यस वर्ष धेरै सडकमा क्षति नभएधकाले पालिकाले केही ठाउँका पहिरो पन्छाए सहज रुपमा गाडी चल्ने गराउनुपर्नेमा बीरबहादुरले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “गाडी नचल्दा सबैभन्दा समस्या त गाउँमा कोही बिरामी हुँदा हुँुदोरैछ, अस्पताल लगिहाल्न पर्ने बिरामी बाटो बन्द भएको हुँदा बोकेरै लैजानु पर्छ, बोकेर लैजाँदा समयमै अस्पातल पुर्‍याउन नसक्दा दु:खद घटना हुने गर्छ, सरकारले बाह्रै महिना बाटो चलाउने गरी काम गर्नुपर्छ ।”

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पहिरोले अवरुद्ध सडक अब तत्काल खुलाउने बताउनुभयो । पालिकाका अधिकांश सडक सञ्चालनमा रहेको भन्दै उहाँले केही ग्रामीण सडक अवरुद्ध रहेकाले खुलाउनका लागि बजेटको व्यवस्था गरिसकेको र केही दिनमै काम सुरु हुने बताउनुभयो । “बर्खाका कारण केही गाउँ जोडिएका सडकहरु ठप्प छन्, अहिले सञ्चालनमा रहेका सडक पनि अप्ठ्यारा छन्, पालिकाभरिका सबै सडक खुलाउन बजेटको व्यवस्था गिरेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “मौसम हेरिराखेका छौँ, बर्खा केही कम भएको छ, अब सडक खुलाउँछौँ, यति बेला खुलाइसक्थ्यौँ, फेरि पहिराले पुर्‍यो भने खर्च बढी हुने हुँदा अब बल्ल खुलाउने तयारीमा छौँ ।” रासस