५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले बगरमा परिणत हुँदै कुतियाकबर



अ+ अ-

बेदकोट । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार विसं २०३९ मा जाजरकोटबाट बसाइँसरी यहाँ आएको थियो । जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको थियो ।

चार दशकअघि कुतियाकबर आउँदा बुढा १२ वर्षका मात्रै थिए । जाजकोटबाट पहिराले लखेटिएका बुढाको परिवारलाई प्राकृतिक विपत्तिले यहाँ पनि दु:ख दिइरहेको छ । विसं २०४० मा महाकालीमा आएको भीषण बाढीले बुढाको घरखेत, अन्नपात सबै बगायो ।

“सात दिनरात ठूलो बाढी आएको थियो, अन्नपात जमिन सबै लग्यो, धौधौ ज्यान जोगायौँ”, ४० वर्षअघिको बाढी सम्झदै बुढा भन्नुहुन्छ, “त्यति बेलादेखिको कटान, बाढीको समस्या अझै समाधान भएको छैन ।”

वर्षौंदेखि बाढीको समस्या झेल्दै आएका बुढालाई कुतियाकबरबाट पनि विस्थापित हुनुपर्ने होकि भन्ने चिन्ताले सताउन थालेको छ । बाढीले बर्सेनि जमिन कटान गरिरहेको छ । “अब खेतीपातीका लागि जमिन छैन, नेपाल–भारत सीमा नजिक दशगजा क्षेत्रमा एक कट्ठा जमिनमा घर मात्रै बाँकी छ”, उहाँले भन्नुभयो, “यस्तै रह्यो भने यहाँ कसरी बस्ने रु फेरि विस्थापित हुनुपर्ने अवस्थामा आइसक्यो ।” बुढा हाल भाडामा जमिन लिएर खेतीपाती गर्दै आउनुभएको छ ।

बुढा जस्तै भारतीय नागरिक कार्तिक मण्डलको पनि समस्या छ । कुतियाकबर पारी भारतीय बस्ती नौजलियाका मण्डलसँग पनि खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो झुप्रो मात्रै छ । उहाँ वर्षौंदेखि कुतियाकबरमा जमिन भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ । महाकाली नदीले जमिन कटान गरेर बगर बनाएको उहाँको भनाइ छ ।

“दुई एकड जमिन लिजमा लिएको थिएँ, महाकालीले बगाएर आधा मात्रै बाँकी छ”, उहाँले भन्नुभयो, “जोगबुढा र महाकाली नदीले यहाँको खेतीयोग्य जमिनलाई बगर बनाउँदैछ ।”

कुतियाकबरकै लालबहादुर खड्काको पनि करिब तीन बिघा जमिन महाकालीले बगायो । उहाँ डोटीबाट दशकअघि कुतियाकबर झर्नुभएको थियो । “सुरुआतमा यहाँ जंगल थियो, राजाले बस्ती खोलेपछि बुवा जङ्गल फाडेर बस्नुभएको हो”, लालबहादुर सुनाउनुहुन्छ, “डेढ/दुई बिघा जोगबुढा नदीले लग्यो, त्यतिकै महाकालीले पनि ।” जोगबुढा र महाकाली नदीको बाढीले कुतियाकबरका सयौँ परिवारको उठीबास भएको छ । कुतियाकबरको उर्वराभूमि बाढीले बगरमा परिणत भइरहेको छ ।

विसं २०२४ देखि कुतियाकबरमा मानव बस्ती विकास भएको थियो । त्यसबेला करिब एक सयभन्दा बढी परिवार कुतियाकबरमा बस्थे । अहिले बाढीकै कारण विस्थापित भएर ४२ परिवार मात्रै छन् । यो नेपालको पश्चिमी दक्षिणी अन्तिम सीमा हो । सदरमुकामबाट टाढा रहेको यस भूभागका स्थानीयले राज्य भएको अनुभूति गर्न नपाएको गुनासो गरिरहनछन् ।

जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउने गरेको छ । सयौँ बिघा खेतीयोग्य जमिन बगर बनिसकेको छ । बर्खायाम लागेसँगै कुतियाकबरका बासिन्दा त्रसित हुन्छन् । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन्, उनीहरू ।

पानी परेको रात जाग्राम बस्नुपर्ने यहाँका मानिसको बाध्यता हो । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ । “बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जाग्राम बसेर नदीमा पानीको बहाव हेरिरहनुपर्छ”, स्थानीय वसन्ती सुनारले भन्नुभयो, “बाढी आयो भने सिधै बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन, त्रासै त्रासमा बस्नुपरेको छ ।” रासस