२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक स्तरोन्नतिले ल्यायो खुसीयाली



अ+ अ-

सुर्खेत । पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ वर्षसम्म सडक लथालिङ्ग थियो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो । बिरामी र गर्भवती महिलालाई निकै जोखिम थियो ।

सुर्खेत पश्चिमका नागरिकको लाइफ लाइनका रूपमा रहेको सडकखण्डलाई पक्की बनाउने हरेकपटक चुनावी नारा बन्थ्यो । तर चुनाव सकिएपछि कहिल्यै टालो नफेरेको उक्त सडकखण्ड २९ वर्षपछि स्तरोन्नतिको काम सुरु भएपछि पश्चिम सुर्खेतवासी नागरिकमा खुसीयाली छाएको छ । चौकुने गाउँपालिका–२ का ६५ वर्षीय मानबहादुर बडुवाल सडक सुधार हुँदा निकै खुसी हुनुहुन्छ । हिँड्नै मुस्किल हुने सडकको स्तरोन्नति हुन थालेपछि अब दु:खका दिन सकिने उहाँको आशा छ । “यहाँका नागरिक बिग्रँदो अवस्थाका कारण वर्षात्अगावै घरायसी सामानको जोहो मिलाउँथे । सडक पक्की बनेपछि त्यो अवस्था सकिनेछ”, उहाँले भन्नुभयो ।

मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतको ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरी हाल तीव्रगतिले काम भइरहेको छ । तीन खण्डमध्ये बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्डको निर्माण सम्झौता भई तीव्रगतिले काम भइरहेको छ भने खम्बागाडे–विद्यापुर सडकखण्डको काम सुरु हुँदैछ ।

राजमार्गको तीन खण्डमध्ये दुईवटा खण्डमा मदन भण्डारी राजमार्गले र एक खण्डमा कर्णाली प्रदेश सरकारले काम गर्दैछ । बाँकी खण्ड बल्देबाट लगामसम्मको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन ९आइइई० स्वीकृत भइसकेको छ भने लगामबाट कर्णाली सडकखण्डको आइइई स्वीकृतको चरणमा रहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद आचार्यले बताउनुहुन्छ । उहाँका अनुसार सडक निर्माणमा पश्चिम सुर्खेतवासीदेखि जनप्रतिनिधिहरूको समेत साथ रहेकाले अब सम्झौता मितिभित्रै सडक निर्माण हुनेछन् ।

जग्गा मुअब्जाका लागि घरटहराको लगत लिने काम भइरहेको उहाँले बताउनुभयो । हाल तीनवटै सडकखण्डमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लगायतका काम सम्पन्न भइसकेका छन् । मध्यपहाडी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको बीचमा बन्दै गरेको मदन भण्डारी राजमार्गले नेपालको पूर्वबाट पश्चिमसम्मका चुरे आसपासका क्षेत्रलाई समेटेको छ ।

बड्डीचौरबाट खम्बागाडेसम्मको १३ किलोमिटर सडक तीनवटा मोटरेबल पुल निर्माण सम्झौता भई अघि बढेका छन् । हाल यो सडकखण्डको १५ प्रतिशत भौतिक प्रगति भएको छ । हाल उक्त खण्डमा नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको छ । यसै खण्डमा पुन:निर्माणको काम सडक डिभिजन कार्यालय सुर्खेतले गरेको छ । यो सडकखण्डमा सात किलोमिटर जङ्गल क्षेत्र छ । तर समयमा रुख कटान आदेश नआउँदा काममा ढिलाइ हुने गरेको छ । यसका लागि कर्णाली प्रदेश सरकारले रु ४२ करोड बजेट विनियोजन गरेको छ । विसं २०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ ।

खम्बागाडेबाट विद्यापुरसम्मको १० किलोमिटर सडकखण्डको काम भने अघि बढ्न सकेको छैन । सडक निर्माणका लागि ठेक्का व्यवस्थापन गरिँदैछ भने बहुवर्षीय स्रोत सुनिश्चितताका लागि प्रक्रिया अघि बढेको आयोजना प्रमुख आचार्यले बताउनुभयो ।

विद्यापुरबाट बल्देसम्मको सडकखण्ड २२ किलोमिटर छ । यो सडकखण्ड ठेक्का व्यवस्थापन भई हाल निर्माणको काम तीव्रगतिमा भइरहेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको २२ किलोमिटर सडकखण्डको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नु पर्नेछ । राजमार्ग क्षेत्रमा पर्ने रुख कटानको कानुनी प्रक्रिया पूरा भएपछि विस्तृत काम अघि बढ्ने आयोजना कार्यालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले निर्धारित मितिमै काम सम्पन्न गर्ने बताउनुभयो । “अनेक समस्याबीच पनि कामको रफ्तार देख्दा निकै खुसी लाग्यो । अहिले ठेकेदारप्रति गुनासो गर्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “सडक निर्माण समयमै सम्पन्न गर्न सबैले सहयोग गरौँ ।” समयमै काम सम्पन्न गर्न र रुख कटानका लागि आवश्यक पहल गर्ने मन्त्री चपाईँले आश्वासन दिनुभयो ।

सडककै कारण अहिले पश्चिम सुर्खेतका किसानले उत्पादन गरेको दूध र तरकारी बजारमा बेच्नका लागि महिलाले पैदल नै बजारसम्म पुगेर बेचेर फर्कनुपर्ने बाध्यता छ । बिहानको झिसमिसेमै पैदल हिँडेर स्थानीय बजारमा दूध र तरकारी बेच्न जाने महिला साँझमात्रै घर फर्किनुपर्ने बाध्यता छ ।

सडक स्तरोन्नति भएपछि उत्पादित वस्तु बेचेर ग्रामीण क्षेत्रका किसानको आयआर्जनमा वृद्धि हुने चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश)ले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक स्तरोन्नतिपछि ढुवानीका साधन पनि बारीबारीमै पुग्नेछन् । कुहिएर जाने तरकारी बजारमा पुग्नेछ । कृषकले आफ्ना वस्तु सजिलै बजार पुर्याउने अवस्था आउनेछ । किसानको उत्पादन गाउँमै राम्रो मूल्यमा बिक्री हुनेछ ।” सडक सञ्जालले आम मानिसलाई करेसाबारीमा फलेका तरकारी होस् या खेतबारीमा फलेको अन्न, बजार पुर्याउन सहज बनाउनेछ । रासस