२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले आदिबराहताल बगरमा परिणत



अ+ अ-

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिराका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिराले ताल पुरिएको हो । समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदिबराहताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

अङ्ग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको छ । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धवलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेको थियो । तालमात्र नभई त्यसमा रहेको बराह मन्दिरसमेत जोखिमा परेको छ ।

स्थानीय बासिन्दाका अनुसार नीलो तालको बीचमा बयसको रुखसँगै रहेको बराहको मन्दिर साह्रै नै मनमोहक देखिन्थ्यो । स्थानीय थलबहादुर घर्ती क्षेत्रीका अनुसार, “यो बराह मन्दिर रहेको ताल प्राकृतिक हो । यो मन्दिर स्थापनाको इतिहास खोज्दै जाँदा १२औँ शताब्दीसम्म पुगिन्छ । यहाँका घर्ती, क्षेत्रीले इष्टदेवका रूपमा बराह देवताको पूजा गर्दै आएको भए पनि सबै जातजातिले बराह देवताप्रति विश्वास र आस्था राखेर पूजा गर्दछन् । बराह देवता रहेको तालमा टाढा–टाढाबाट सेता जलहाँस उड्दै आएर पौडी खेलेको देख्न पाइन्थ्यो ।”

कुवापानी पहाडबाट गत साउन ६ गतेदेखि लगातार पहिरो बग्दै आएर बाढी पसेपछि ताल कमेरो माटोसहितको लेदोले भरिएको छ । सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय नवीन जिसीले जानकारी दिनुभयो । प्रत्येक वर्ष जनैपूर्णिमामा आदिबराहताल मन्दिरमा भव्य पूजासहित मेला लाग्ने गर्दछ । मेला हेर्न र बराह देवताको पूजा गर्नका लागि हजारौँ भक्तजन तथा सर्वसाधारणको घुइँचो लाग्ने गर्दथ्यो । गत भदौ १४ गतेको जनैपूर्णिमाका दिन मन्दिर वरपर रहेको केही मात्रामा हिलो पन्छाएर पूजा गरिएको जिसीले बताउनुभयो ।

स्थानीय टेकबहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा ताल संरक्षण समिति गठन गरिएको छ । समितिका अध्यक्ष घर्तीका अनुसार बजेट अभावमा तालभित्रको कमेरो लेदोमाटो हटाउन र तालसम्म पुग्ने कच्ची बाटो मर्मत गर्न सकिएको छैन । गाउँपालिकासँग यसका लागि बजेट नभएकाले प्रदेश सरकारसँग ताल संरक्षणका लागि तत्काल रु ५० लाख माग प्रस्ताव गरेको अध्यक्ष घर्तीले बताउनुभयो । रकम प्राप्त भएपछि मात्र ताल संरक्षणको काम सुरु गर्न सकिने अध्यक्ष घर्तीको भनाइ छ ।

तालसँगै रहेको घर्ती क्षेत्रीहरूको बराह मन्दिर गत वर्षमात्रै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । पछिल्लो समय ताल संरक्षणका लागि विभिन्न काम गरिएको भए पनि पहिराले सबै ध्वस्त बनाएको अध्यक्ष घर्तीले बताउनुभयो । छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबाट मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुग्न सकिन्छ । अहिले मोटरबाटोको समेत सुविधा पुगेको थियो ।

तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्थ्यो । यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । घर्ती क्षेत्रीको कूलपूजासमेत यही तालको नजिकैमा रहेको मन्दिरमा गरिने भएकाले पनि यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेको स्थानीय युवा नवीन जिसीले बताउनुभयो ।

“छेउमै रहेको ढुङ्गेधारामा पानी सुक्दैन, यहाँका बासिन्दाले यही पानी खाने गर्छन्”, उहाँले भन्नुभयो, “तालको बीचमा रहेको मन्दिर र बरको रुखले समेत यो ताललाई आकर्षक बनाएको छ । बराहताल अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्दछ ।

जलजला गाउँपालिकाको सबैभन्दा ठूलो बराहताल कहिल्यै सुक्दैन । तालको बीच भागमा अवस्थित बयसको रुख यहाँको अर्को आकर्षण हो । सोही रुखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल संरक्षण र प्रवर्द्धनका लागि पछिल्लो समय स्थानीय र प्रदेश सरकारले चासो देखाएका बेला पहिराले पुरिएर समस्या परेको स्थानीय लालबहादुर अधिकारीले बताउनुभयो ।

कुवापानीको पहाड नै चर्किएर झरेको पहिराले सात घर विस्थापित बनेका छन् भने यो तालसहित ८५ रोपनी क्षेत्रफलमा फैलिएको खेतीयोग्य खेतबारीसमेत बगरमा परिणत भएको छ । पहिराको केही दिनअघि खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन गरेर फर्किएको छ । तर प्रतिवेदन आउन भने बाँकी छ । रासस




भर्खरै