• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

फिनल्याण्ड र ताजिकिस्तानको टोली परिवार नियोजन उपत्यका शाखामा



काठमाण्डौ। फिनल्याण्ड सरकारको दातृ संस्था भ्यास्टोलिटोबाट आएको टोलीले नेपाल परिवार नियोजन काठमाण्डौ उपत्यका शाखाको स्थलगत अवलोकन भ्रमण गरेको छ ।

भ्यास्टोलिटा संस्थाकी विकास तथा सहयोग विभागकी अधिकारी जुक्का हल्किलाहिटीको नेतृत्वमा फिनल्याण्डबाट ५ सदस्यीय टोली केही दिन अघि नेपाल आएको थियो ।

सो संस्थाले नेपालको परिवार नियोजन तथा लैङ्गिक समानता र सामाजिक समावेशितामा विगत लामो समयदेखि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ भने नेपाल परिवार नियोजन संघ, संघको उपत्यका शाखा र नेपालगञ्ज शाखाको लागि फिनल्याण्डले वार्षिक ५५ लाख रुपैयाँ आर्थिक सहयोग पनि गर्दै आएको छ ।

टोलीले काठमाण्डौ उपत्यका शाखाले वहिरा महिला, शारिरीक र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई दिँदै आएको वृहत यौनिकता तथा प्रजनन अधिकारको लागि दिँदै आएको सेवाको पनि जानकारी लिनुका साथै सेवाग्राहीहरुसंग अन्तरसंवाद पनि गर्यो ।

यसैगरि ताजिकिस्तानबाट आएको दुई सदस्यीय टोलीले पनि उपत्यका शाखाको स्थालगत अवलोकन भ्रमण गरि शाखाले दिँदै आएको नमुना सेवाबारे जानकारी लिएको छ ।

नेपाल परिवार नियोजन संघको साथै काठमाण्डौ उपत्यका शाखाले सञ्चालन गर्दै आएको बौद्धिक तथा शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई दिँदै आएको वृहत यौनिकता तथा प्रजनन अधिकारको बारेमा बुझ्न उनीहरु नेपालमा आएका हुन् ।

उपत्यका शाखामा फिनल्याण्ड र ताजिकिस्तानको टोलीलाई स्वागत गर्दै शाखाका प्रवन्धक शरदकुमार अर्यालले शाखाले वहिरा महिला, शारिरीक र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई दिँदै आएको वृहत यौनिकता तथा प्रजनन अधिकारको साथै परिवार नियोजनको सेवाबारे प्रकाश पारे ।

शाखाले परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सेवा मात्रै नभई विगत लामो समयदेखि शारिरीक अपाङ्गता भएका व्यक्तिहरुको प्रजनन अधिकारको बारेमा वकालत समेत गर्दै आएको छ ।

साथी शिक्षक तथा सेवाग्राहीहरुसंगको अन्तरसंवादपछि शाखाको तर्फबाट फिनल्याण्ड र ताजिकिस्तानको टोलीलाई शाखा प्रवन्धक अर्यालले उपहार पनि दिएका थिए ।