• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि…

जहाँ विपीका नाममा चार दशकदेखि कोठा खाली छ



चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उहाँकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उहाँकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।

“घर बनेपछि यो कोठामा विपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन”, ९० वर्षीया गौरीदेवीले भन्नुभयो । उहाँका श्रीमान स्व श्यामकृष्ण प्रधानसँग विपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उहाँलाई लिने गरेको थियो ।

विसं २००६ मा बन्दीपुरमा प्रधानको विपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो । गौरीदेवीले भन्नुभयो, “अरु नेता आउँदा पनि विपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।” कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उहाँ बताउनुहुन्छ ।

“घर बनेदेखि विपी यही घरमा बस्नुभएको हो”, गौरीदेवीले भन्नुभयो । छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा विपी सुतेको खाट अझै देख्न सकिन्छ । रातो रङको यो घर विसं २०२६ मा निर्माण भएको हो ।

घरको पहिलो तलामा आराम गरिरहनुभएकी प्रधानले भन्नुभयो, “विपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ । ‘गिरिजा चिन्यौँ, घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नु है ।” प्रधानको मामाको छोरा धर्मभक्त माथेमालाई राणाले मारेकाले उहाँमा क्रान्तिकारी जोश भएकाले पनि विपीप्रतिको श्रद्धा बढी भएको बताउनुभयो ।

विपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गथ्र्यो । कहिले के हुन्छ थाहा हुँदैनथ्यो । त्यो बेला सम्झँदै उहाँले भन्नुभयो, “यही घरमा बसेर विपीबाबुले राजनीतिक योजना पनि बनाउनुहुन्थ्यो ।” विपी कतिपटक घरमा आउनुभयो उहाँलाई यकिन सम्झना छैन । उहाँले भन्नुभयो, “कति आउनुभयो आउनुभयो । चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा यही बस्नुहुन्थ्यो ।” सधैँ गाडीमा तेल श्यामकृष्णले भरिदिनुहुन्थ्यो ।

सादा खाना विपी बाबुले खाने गरेको प्रधान बताउनुहुन्छ । उहाँले भन्नुभयो, “माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना खानुहुन्थ्यो । मैले सोध्ने गर्थेँ, “विपीबाबु के खाने रु तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो ।” विपीले थोरै खाना मीठो गरी खाने गरेको उहाँलाई सम्झना छ ।

जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न यही घरमा आउने गरेको उहाँले स्मरण गर्नुभयो । साँझ विपी भन्नुहुन्थ्यो, “जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ ।” विपी हुँदै गर्दा विवाहको घर जस्तै हुने गरेको उहाँले बताउनुभयो । थोरै खाने चिटिक्क परेर हिँड्नुपर्ने विपीको स्वभाव थियो ।

प्रधानले भन्नुभयो, “मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेउ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो ।” विपी बिरामी परेपछि श्यामकृष्णको परिवार निकै चिन्तित बन्यो । तनहुँ र चितवनमा महिला सङ्घको स्थापना गर्नुभएकी प्रधानले विपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक सङ्कलनसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “मैले बजार घुमेर आर्थिक सङ्कलन गरेँ, म आफूले त दिने नै भएँ, अरुले पनि दिए ।”रासस