१ आश्विन २०८३, बिहीबार
,
Latest
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित



अ+ अ-

फुङ्लिङ (ताप्लेजुङ) । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।

बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) रु ५६ हजारसम्ममा कारोबार भइरहेको छ । भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन् ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका स्थानीय व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन रु ५५ हजारदेखि रु ५६ हजारसम्ममा कारोबार भइरहेको बताउनुभयो । रेग्मीका अनुसार गत वर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन रु २४ हजारदेखि रु २७ हजार मात्र मूल्य थियो । उहाँले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले अलैँचीले उचित मूल्य पाइरहेको बताउनुभयो ।

अलैँची व्यापारी दिनेश अधिकारीका अनुसार एक साताअघि नयाँ अलैँची प्रतिमन रु ६० हजारमा कारोबार भएको थियो । त्यसपछि तीन दिनअघि प्रतिमन रु ५७ हजारमा कारोबार भएको अलैँची शुक्रबार भने रु ५६ हजारमा कारोबार भएको उहाँले जानकारी दिनुभयो । “अहिलेको मूल्य गत वर्षभन्दा दोब्बर बढी हो”, अधिकारीले भन्नुभयो ।

भारतसहितका मुलुकबाट माग रहेकाले सुरुमा नयाँ अलैँचीले राम्रै मूल्य पाएको व्यवसायी बताउँछन् । अलैँची व्यवसायी सङ्घका अनुसार अहिलेको मूल्य पछिसम्म कायम रहेमा वा थप वृद्धि भएमा किसान तथा व्यवसायीलाई राम्रो फाइदा हुने देखिन्छ । नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारको भरमाथि निर्भर हुने हुँदा मूल्य भने अनिश्चित रहने सङ्घका अध्यक्ष रेग्मीको भनाइ छ ।

यस वर्ष अलैँची उत्पादनमा भने गिरावट आउने बताइएको छ । विगतको तुलनामा यो वर्ष झण्डै आधाले उत्पादन घट्ने किसान बताउँछन् । फूल फुल्ने समयमा खडेरी लागेको, असिनाले चुटेको र कतिपय ठाउँमा रोगले अलैँची नष्ट हुँदा उत्पादनमा ह्रास आउने किसान बताउँछन् ।

त्यस्तै गत असार–साउनमा गएको बाढीपहिराले समेत केही क्षेत्रमा अलैँचीखेती बगाएका कारण उत्पादनमा कमी आउने सिदिङ्वा गाउँपालिका–६ मेहेलेका प्रेम बुडाक्षेत्रीले बताउनुभयो । यस वर्ष २५ देखि ३० प्रतिशतसम्म उत्पादन घट्नसक्ने उहाँको अनुमान छ । सुक्खा मौसम ९खडेरी०, रोग तथा असिनाको असर सबैतिर नपरेकाले अलैँची उत्पादन घट्ने देखिन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अलैँचीखेती करिब चार हजार पाँच सय हेक्टरमा लगाइएको छ । जिल्लामा वार्षिक दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको तथ्याङ्क छ । रासस