२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात



अ+ अ-

गल्याङ । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ।

सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताउनुभयो ।

“हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ”, उहाँले भन्नुभयो, “दूधबाट बनेका परिकार स्थानीय बजारमा बिक्री गरेर पनि काठमाडौँ निर्यात गर्ने गरेका छौँ ।” उहाँले विशेष गरेर सहकारीले उत्पादन गरेको छुर्पीमात्र अमेरिका निर्यात हुने गरेको दाबी गर्नुभयो । यहाँको दुग्ध सङ्कलन केन्द्रमा वालिङ नगरपालिकासहित दक्षिणी पर्वतबाट समेत कृषकले दूध जम्मा गर्ने गरेका छन् ।

“साना किसान कृषि सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक आठ सयदेखि एक हजार एक सय लिटरसम्म दूध सङ्कलन हुन्छ”, उहाँले भन्नुभयो, “दैनिक २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ, दूधको सिजनमा छुर्पीको उत्पादन धेरै नै हुन्छ ।” अध्यक्ष अर्यालले प्रतिकिलो छुर्पीलाई रु एक हजारदेखि एक हजार एक सयसम्म पर्ने बताउनुभयो । उहाँले दूधबाट उत्पादित परिकारको बजारीकरणका लागि समस्या नभएको बताउनुभयो ।

सहकारीका प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले प्रतिलिटर दुई रुपैयाँ ५० पैसा दूधमा दिएको अनुदानले कृषक व्यावसायिक गाईभैँसीपालनमा आकर्षित हुँदै गएको बताउनुभयो । “कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री, लहरेबालीका बीउबिजन, घाँसका बिरुवा वितरण गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “बाख्रापालक कृषकलाई बोयर बोका, एक सय ५० किलोदेखि माथि अदुवा लगाउने कृषकलाई किलोमा रु २५ अनुदान दिँदै आएका छौँ ।”

प्रबन्धक रेग्मीले प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनासँगको सहकार्यमा गत आर्थिक वर्षमा १० जना कृषकलाई ‘भँैसी अनुदान कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताउनुभयो । उहाँले २८ जना कृषकलाई ‘भकारो सुधार कार्यक्रम’अन्तर्गत अनुदान वितरण गरिएकोसमेत जानकारी दिनुभयो ।

विसं २०७५ मा स्थापन भएको सहकारीमा दुई हजार आठ सय ५० शेयर सदस्य रहेका छन् । सहकारीले चालु आर्थिक वर्षमा पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत नि:शुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । कृषि पेसातर्फ किसानलाई आकर्षित गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषकलाई अनुदान दिँदै आएको प्रबन्धक रेग्मीको भनाइ छ ।

“हिजोआज वित्तीय संस्थाहरूले ऋण लगानी गर्ने र ब्याजमार्फत मुनाफा आर्जन गर्ने परम्परा चलिरहेको छ”, उहाँले भन्नुभयो, “यो अवस्थामा परिवर्तन ल्याएर कृषकलाई आत्मनिर्भर र स्वरोजगार बनाउने योजनाअनुसार सहकारीले काम गरिरहेको छ ।” रेग्मीले सहकारीले कृषकमुखी कार्यक्रम सञ्चालन गर्दा वैदेशिक रोजगारमा जान ठिक्क परेकाहरू रोकिने गरेको सुनाउनुभयो । उहाँले कृषकलाई अकला नमूना साना किसान कृषि सहकारीमा जोडिएर स्वरोजगार बन्न आग्रह गर्नुभयो । रासस