• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी ★   केकेआरसँग फाइनलमा को भिड्ने ? यस्तो छ इंग्ल्यान्डका लिजेण्डको भविष्यवाणी ★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश

अर्थतन्त्रमा नीजि क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र देशको आर्थिक विकास संभव: राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा नीजि क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र देशको आर्थिक विकास संभव हुने धारणा व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् कार्यकारिणी समितिसँगको भेटमा विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो – “यही तथ्यलाई ध्यानमा राखेर सरकार र नीजि क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ ।”

नेपालको अर्थव्यवस्थामा नीजि क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उहाँले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राख्नुभयो ।
राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफु अनभिज्ञ नरहेको स्पष्ट पार्नुभयो । “रोजगारी सृजना हुन नसक्नु, विप्रेषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामन्जस्यता नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेलाबेलामा विध्न बाधा देखा पर्ने गरेका छन् । यसैले गर्दा मूल्य वृद्धि लगायत साना र मझौला उद्योगहरू समस्याग्रस्त हुँदै जाने यो अवस्थामा नीजि सार्वजानिक साझेदारी बाञ्छनीय छ भन्ने मलाई लाग्छ”, उहाँले भन्नुभयो ।

उहाँले नेपालमा रोजगारी सृजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिन अगाडि आफुले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सवैको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले भन्नुभयो – “धेरै राजनीतिको तानावानामा नअल्झिकन मुलुकको आर्थिक अवस्था सुदृढ गर्नका लागि सबैको ध्यानाकर्षण गराएको छु ।” राष्ट्रपति पौडेलले महासंघसँग पहिले नै भेट्न चाहेकोमा हाल स्वास्थ्य सुधार भएकाले भेट केहि ढिला सम्भव भएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सूचकहरू सकारात्मक रहेपनि आम नागरिक र व्यवसायीहरूको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।

भेटका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेको अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रिय बैंक र निजी क्षेत्रले एक आपसमा सहकार्य गर्नुपर्ने बताउनुभयो ।

सरकारले पूँजीगत खर्च गर्न नसकेको र बैंक वित्तीय संस्थाहरुबाट पनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा बजारमा मागको कमी आएको छ । यस्तो अवस्थामा पूँजीको लागत कम गरी लगानी बढाउन निजी क्षेत्रलाई हौसला आवश्यक रहेको धारणा अध्यक्ष ढकालको थियो ।

व्यवसाय शत प्रतिशत चल्न सक्ने आधारमा राजश्वको लक्ष्य राखिएको हुन्छ । तर व्यवसाय दुई तिहाई खुम्चिदा करिब पाँच दशकपछि अघिल्लो बर्षभन्दा कम राजश्व संकलन भएको छ । यससँगै सरकारी लक्ष्यभन्दा ६ प्रतिशत बिन्दुले कम आर्थिक वृद्धि हासिल भएको छ । त्यसैले पूँजीको लागत घटाइ बजारमा रकम प्रवाह गर्नुपर्ने धारणा अध्यक्ष ढकालको थियो ।
यसैगरी, अध्यक्ष ढकालले निर्यात प्रवर्द्धन गर्न, वैदेशिक लगानी आकर्षण गर्न र पर्यटन प्रवर्द्धन विशेष पहल आवश्यक रहेको बताउनुभयो।